Press & Media

लमही अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुरु

24 Oct, 2020 By: सञ्चार संवाददाता

Lamahi-Hospital
दाङ– लमही अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरबृद्धि भएर लमही अस्पताल बनेको लामो समयपछि लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको हो।

शुक्रबार लमही नगरपालिका वडा नं. ३ बनगाउँ निवासी यशोदा केसीलाई शल्यक्रिया मार्फत प्रसुती सेवा प्रदान गरिएको लमही अस्पतालका डाक्टर सत्यप्रसाद वैद्यले जानकारी दिए।

निक साइमन्स् इन्स्टिच्यूटको सहयोगमा लमही अस्पतालमा प्रसुती सेवामा शल्यक्रिया सेवा थपिएको हो। यसअघि लमही अस्पतालमा सामान्य प्रसुती सेवा सञ्चालनमा थियो। जटिल प्रकारको सेवा थिएन। बुटवल या नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। तर पछिल्लो समय लमही अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरेर प्रसुती सेवा सञ्चालन गरिएको हो।

‘शल्यक्रियाबाट प्रसुती सेवा यहीँ पाउने भएपछि धेरै आमाहरुलाई सजिलो हुनेछ। जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ,’ डाक्टर वैद्यले भने,‘यो सेवालाई सुविधायुक्त बनाउँदै लैजानुपर्छ।’

डाक्टर वैद्यको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टिमले शल्यक्रिया गरेको थियो। शल्यक्रियामा डाक्टर सत्यप्रसाद वैद्य, डाक्टर आकाश बेल्वासे, एनएसथेसिया अजय जैसवाल, स्टाफ नर्स मन्नीता अधिकरी, अनमी शिला चौधरी लगायतका स्वास्थ्यकर्मी र चिकित्सकको टोली खटेको थियो।

कात्तिक ७, २०७७ मा प्रकाशित
Share this: