Press & Media

प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा प्रवाह

16 Oct, 2017 By: Beni Online, 16 Oct. 2017

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित रहेको बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै जान थालेको छ । जिल्लामै अप्रेशनसहितको प्रसुती सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका अप्रेशन, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

निक साईमन्स इस्टिच्युटको सहयोगमा अप्रेशनसहितको प्रसुती सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १ सय ७४ जनाको सफल अप्रेसन गरिएको अस्पतालका क्लिीनिकल कोअर्डिनेटर डा. धिरेन्द्रकुमार मल्लले बताए । उनले एपेन्डीसाईटिसको ३५, हाईड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको ६ वटाको सफलतापूर्वक अप्रेशन गरिएको जानकारी दिए । अहिले पनि मासिक रुपमा ६० देखि ७० ओटासम्म हाडजोर्नीसम्बन्धी अपे्रशन गर्ने गरिएको छ भने हजारौंको माइनर अप्रेशन भैसकेको उनको भनाई छ ।

अस्पताल परिसरमा पछिल्लो समय नयाँ भवन निर्माणकार्य शुरु भएपछि दुईवटा ओपिडिमार्फत बिरामीहरुलाई सेवा दिइएको छ । डा. मल्लका अनुसार ५० शैयाको अस्पतालमा स्तरोन्नति भए पनि १५ शैया क्षमता रहेको बेनी अस्पतालमा नियमित रुपमा २७ बेडमा उपचार हुँदै आइरहेको छ भने बिरामीको सङ्ख्या वृद्धि भएको खण्डमा लो बेडको समेत व्यवस्था गरी उपचार गर्ने गरिएको छ । ओपिडिमा मात्रै दैनिक रुपमा १ सयको हाराहारीमा बिरामीहरु सेवा लिन आउने गरेका छन्भने कहिलेकाहीँ त्या सङ्ख्या बढेर डेढसयसम्म पुग्ने गरेको बताइएको छ


बेनी अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन न्यौपानेले गत आर्थिक वर्षमा नयाँ हेल्थपोष्ट निर्माणका लागि ७ ओटा भवन उपलब्ध भएको बताए । उनले पुलाचौर, मल्कबाङ, घार, हिस्तान, ओखरबोट, कुहुँ र चिमखोलामा भवन परेको जानकारी दिए । यसैगरी राम्चे, पिप्ले, विम, बराङ्जा, देवीस्थान, भगवतीलगायत गरी विभिन्न ८ ओटा स्वास्थ्यचौकीको निर्माणकार्य ८० प्रतिशत काम सम्पन्न भैसकेको उनले बताए । अन्य ठाउँमा पनि भवन निर्माणका लागि तयारी गरिएको छ भने नयाँ भवन पार्नलाई पहल जारी राखिएको डा. न्यौपाने बताउँछन् ।

त्यस्तै म्याग्दी जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको र सरकारले दिएको एक वर्षमा ५ प्रतिशत पु¥याउनुपर्ने लक्ष्य म्याग्दीमा पुरा भएको उनले बताए । त्यसैगरी अबदेखि हात्तीपाईले रोगविरुद्धको आम औषधी खानुनपर्ने भएको डा. न्यौपानेको भनाई छ । प्रि ट्रान्समिसन एसेसमेन्ट सर्भे (टिएस)मार्फत हात्तीपाईलेका बिरामी नभेटिएको र सबैले कार्यक्रममार्फत औषधी सेवन गरेको हुँदा अब टासमार्फत अर्को चरणको सर्भे गरी वर्षवर्षमा रगत परीक्षण गरिने बताइएको छ ।

बेनी अस्पतालले स्थानीय आवश्यकताको आधारमा हाईड्रोसिल, परिवार नियोजनलगायत विभिन्न हेल्थ क्याम्पहरु सञ्चालन गर्दै आइरहेको छ । नियमित रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालले आगामी योजनाका रुपमा डेन्टलको एक्सरे मेशिन ल्याउने भएको छ । त्यस्तैगरी क्यान्सर रोगको उपचार गर्नका लागि नयाँ मेशिन आइसकेकोले त्यसलाई तुरुन्तै जडान गरी सञ्चालनमा ल्याइने र क्यान्सरका बिरामीको उपचार समेत जिल्लामै सुरु गरिने डा. न्यौपानेले बताए ।

यसैबीच अस्पतालमा अस्थायी संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष माधवप्रसाद रेग्मीले जनाएका छन् । उनले बेनी अस्पताल पश्चिमाञ्चलको उत्कृष्ट तेस्रो अस्पतालका रुपमा घोषित भएको बताउँदै अस्पतालमा अस्थायी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । हस्पिटलको समन्वय र जर्मनी इन्जिनियरद्वयको सहयोगमा फोहोर व्यवस्थापनका लागि अत्याधुनिक इन्सुलेटरको निर्माण गरिएको उनले बताए । बेनी अस्पतालमा पछिल्लोपटक दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छ । साथै प्रवासी म्याग्देलीलगायत अन्य व्यक्तिहरुको सहयोगमा विभिन्न अत्याधुनिक उपकरणको जडान गरिएको छ भने सेवालाई चुस्तदुरुस्त बनाइएको छ ।
https://myagdikali.com/?p=134156

Share this: