Written Stories

यथाशक्य रोगको उचित पहिचान र त्यसको निदान

14 Sep, 2017 By: Dr. Shankar Adhikari

२०७३ साल बैशाख २७ गते सोमबारको दिन मौसम बाहिर जति शान्त थियो, त्यति नै अस्तव्यस्त थियो उप–क्षेत्रीय अस्पताल, डडेलधुरा । भित्र बाहिर गरिरहेका बिरामीहरुको बाक्लो चहलपहलले गर्मी याम शुरु भएको प्रष्ट संकेत गरिरहेको थियो । नियमित जसो दिउँसोको ३ बजे ओ.पी.डी. मा बिरामीहरुको जाँच सकेर आकस्मिक कक्ष (त्यसदिन ड्युटी पनि आफ्नै भएकोले) तिर गए । सानो कोठामा जसो तसो राखिएका ५ वटा शैया छन् । देब्रे पट्टिको ४ नम्बर बेडमा पल्टिरहेकी एउटी छट्पटाइरहेकी महिला छिन । उनको दाहिने हातमा गुलाबी रंगको क्यानुला र झुन्डिरहेको सलाइनको बोतल छ । मेरो नजर ति महिला माथि पर्छ । करिब २०–२२ वर्षकि विवाहित झैँ लाग्ने ती महिलाको बारेमा मैले इमर्जेन्सी ड्युटीमा रहनुभएका हे.अ. सन्तोषलाई सोंधे । उसले ती महिला पेट दुखेर आएकी, सबै भाईटल्स सामान्य भएको र आफुले इन्जेक्सन ranitidine र buscopan दिइसकेको बताए । मलाई सो महिलाको छट्पटाहट असामान्य लाग्यो र सो बिरामीलाई आफैले हेर्ने जमर्को गरें ।

मैले सोध्दा उनले बिहानबाट असह्य पेट दुख्न सुरु गरेको बताइन । साथै, हल्का रुपमा योनीबाट रगत बगेको पनि भनिन । मलाई यो केस abortion वा ectopic pregnancy को हुनुपर्छ भन्ने लाग्यो । तर महिलाले आफ्नो श्रीमान बाहिर विदेशमा भएका र आफ्नो महिनावारी पनि हालै मात्र भएको बताइन । महिनावारी र गर्भ बसेको कुरामा खासै बोल्न नरुचाउने समाज हो हाम्रो । त्यसैले मलाई अझै पनि शंका रहिरह्यो । मैले उनको आँखाको परेलाको तल्लो भाग र जिब्रो जांच गर्दा रगतमा हेमोग्लोबिन को मात्रा कम भएको अनुमान् लगाए । साथै, पेट छाम्न खोज्दा उनले निकै दुखेको भावले अनुहार बिगारिन । म अझ सचेत भए, कतै यो ruptured ectopic pregnancy त होइन भनेर । त्यसपछी, मैले सन्तोष लाई तुरुन्त Urine Pregnancy Test, हेमोग्लोबिन, ब्लड ग्रुपिंग र रगतको अन्य जांचहरु पठाउन अह्राएँ । बिरामीको भिडियो एक्स रे गर्नुपर्छ भन्ने लाग्यो । अस्पतालमा रेडियोडाइग्नोसीस डाक्टरको दरबन्दी भए तापनि कोही कार्यरत नहुनु भएकाले सामान्य भिडियो एक्स रे म आफैले पनि सिकेको थिएँ । मैले बिरामीलाई भिडियो एक्स रे गर्ने कक्षमा लगें र भिडियो एक्स रे गरेर हेर्दा पाठेघरको दाहिने पट्टिको नलीमा असामान्य डल्लो भेटें । साथै, पाठेघरको तल पट्टिको ठाउँमा तरल पदार्थ जमेको देखेपछि म यो rupturend ectopic नै हो भन्नेमा थप आश्वस्त भएँ ।

अस्पतालमा एमडीजीपी डाक्टर जितेन्द्र कंडेल पनि हुनुभएकाले मैले उँहालाई फोन गरेर केसको बारेमा सबै बताई भिडियो एक्स रे कक्षमा आउन आग्रह गरें । केहीबेरमा डा. जितेन्द्र आउनुभयो र भिडियो एक्स रे हेरिसकेपछि उँहाले पनि यो rupturend ectopic नै हो जस्तो छ भन्नुभयो । १० मि.लि. को सिरिन्जले पेटभित्र घोची तानेर हेर्दा रगत नै आएपछि हामी थप विश्वस्त भयौं र तुरुन्तै बिरामीको अप्रेसन गर्नुपर्ने निर्णय गर्यौं । यतिखेरसम्म बिरामीको रिपोर्ट पनि आइसकेको थियो । उनको हेमोग्लोबिन ४.५ gm% र UPT पनि पोजिटिभ थियो । त्यसपछि, डा जितेन्द्रले बिरामीलाई उनको अवस्थाबारे सबै बताउनुभयो । त्यसपछि बिरामीको कुरुवालाई पनि बोलाएर बिरामीको अवस्था बारेमा सबै कुरा भन्नुभयो । साथै, अप्रेशन नगरेको खण्डमा बिरामीको ज्यानसम्म जान सक्ने बताएपछि उनीहरु अप्रेशनको लागि राजी भए । अहिलेसम्म, बिरामीको भाइटल्स सामान्य नै भए पनि हेमोग्लोबिन कम भएकाले रगतको व्यवस्था गर्न अस्पताल नजिक रहेको ब्लड बैंकमा फोन गरेर उनको रगत समूहको रगत उपलब्ध भएको सुनिश्चित ग-यौं । देब्रे हातमा १६ गजको क्यानुला खोलेर दुवै लाइनबाट फ्लुइड्स दिन शुरु ग-यौं र सबै ओ.टि. स्टाफलाई अप्रेसनको लागि तयार हुन भन्यौ । बिरामीको कुरुवालाई मन्जुरिनामामा हस्ताक्षर गराएर रगत लिन ब्लड बैंक पठाई हामी अप्रेशन कक्ष तिर लाग्यौ ।

अप्रेशन थिएटरमा डा. जितेन्द्र र म, स्टाफ नर्स तुलसी रोका, एनेस्थेसिया सहायक खेम र ओ.टि. सहायक अशोक हुनुहुन्थ्यो । खेमजीले स्पाइनल दिएपछि करिब ५ः४० बजे तिर डा जितेन्द्रको अगुवाईमा अप्रेसन सुरु ग-यौं । उनको पेटको मध्ये भागमा चिरा दिएर पेट खोल्ने बित्तिकै जमेको रगत देखियो । करिब १००० मि.लि. जति रगत सक्शन गरेर तातो सलाइनले पेरिटोनियम वाश गरिसकेपछि डा जितेन्द्रले दाहिने पट्टिको फ्यालोपियन नलीबाट फुटेको ठाउँ पत्ता लगाउनुभयो । सो ठाउँलाई बाँधिसकेपछि हामीले थप रगत नबगेको सुनिश्चित ग-यौं । रगतको पोका पनि आइसकेकोले खेमजीलाई रगत चढाउन सुरु गर्न आग्रह ग-यौं । बाँधिएको दाहिने नलीलाई काटेपछि करिब ६ः४० बजे तिर अप्रेशन सकेर हामी बिरामी सहित पोस्ट अप वार्ड लाग्यौं । बिरामी सामान्य भएकाले बाहिर निस्केर कुरुवालाई बिरामीको अप्रेशन र हालको अवस्था बारेमा जानकारी गरायौं । बिरामीलाई ३ दिन वार्डमा राखेर थप २ पोका रगत चढायौ र अन्य नियमित उपचार र अनुगमन गर्ने ग-यौं । दुइ दिनपछिको उनको हेमोग्लोबिन ७.३ mg% थियो । बिरामी सबै हिसाबले सामान्य भएपछि ३ दिनपछि बिरामीलाई डिस्चार्ज ग-यौं ।

उक्त केस आफ्नै प्रत्क्षय सहभागितामा व्यवस्थापन गरेकाले हाल सरुवा भै मेहेलकुना अस्पतालमा आए तापनि त्यस्ता केसहरु आएको खण्डमा समयमै पहिचान गरी आवश्यक उपचार गर्न सक्ने आत्मविश्वास बढेको छ । स्वास्थ्यलाई संविधानले समेत मौलिक हकको रुपमा व्याख्या गर्दै आधारभूत स्वास्थ्य सेवा सबैको पहुँचमा पु-याउने वाचा गरे तापनि हालको विद्यमान स्वास्थ्य संरचना र दरबन्दीबाट बिषेशज्ञ सेवा दिन नसकिने सर्वविदित्तै छ । एमडीजीपी र मे.अ. डाक्टर अधिकांश विकट ठाँउहरुमा उपलब्ध भएकाले उँहाहरुको उचित मूल्यांकन गर्दै अझ बढी सेवा दिन उत्प्रेरणा दिनु राज्य र सरोकारवाला सबैको दायित्व देखिन्छ । यसका लागि मे.अ. लाई जटिल समस्याको यथासक्य छिटो पहिचान र उपचार गर्न सक्षम बनाउन आधारभूत भिडियो एक्स रे, ASBA लगायतका तालिमहरु व्यवस्था गर्नु अपरिहार्य छ । राज्यबाट आवश्यक उपकरणहरुको व्यवस्था र प्रोत्साहन रहिरहेमा हाम्रो स्थानबाट अझै बढी प्रभावकारी र गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छौं ।

डा शंकर अधिकारी
मेडिकल अधिकृत (आठौँ), हाल मेहेलकुना अस्पताल, सुर्खेत

Share this: