Written Stories

स्वास्थ्य संस्था र स्थानीय निकाय विचको समन्वयमा सर्पदंश व्यवस्थापन कार्यक्रम

20 Mar, 2017 By: Ramesh Lama

२०७२ साल माघ ३ गते निजगढ प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा निजगढ नगरपालिकासँग सर्पदंश व्यवस्थापन संचालनमा ल्याउने विषयमा छलफल भए पश्चात् सोही अनुरुप नगरपालिकाले आफ्नो वार्षिक योजनामा सर्पदंश व्यवस्थापनको लागि आवश्यक जनशक्ति, औजार तथा औषधिहरु सहितको विस्तृत कार्ययोजना नगरपालिका र बारा जिल्ला स्वास्थ्य कार्यालयमा पेश ग-यो । जस अनुसार यस प्रा.स्वा.के. मा सर्पदंश व्यवस्थापन संचालनको लागि जिल्ला स्वास्थ्य कार्यालयबाट आवश्यक सहयोगहरु प्रदान गरिने प्रतिवद्धता प्राप्त भयो ।

यसै बीच मैले सर्पदंश व्यवस्थापन सम्बन्धी Epidemiology and Diseases Control Division (EDCD) बाट संचालित तालिममा सहभागी हुने अवसर पाएँ । तालिममा मैले सर्पदंश व्यवस्थापनमा हाल भएको परिमार्जन सहितको Clinical updates, snake bite management protocol इत्यादि बारेमा विस्तृत ज्ञान तथा सीपहरु हासिल गरें जुन अहिले व्यवहारमा लागू गर्न धेरै सहयोग सावित भएको छ । यसको अतिरिक्त तालिममा आफु कार्यरत संस्थामा पनि सर्पदंश व्यवस्थापन शुरु गर्ने बारे जानकारी गराएँ । सो कार्यमा तालिममा आउनु भएका विज्ञहरुबाट आवश्यकतानुसार सर्पदंश व्यवस्थापन कार्यमा सहयोग उपलब्ध गराउने कुरा गर्नु भयो ।

२०७२ चैत्र महिनादेखि नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा एक–एक जना चिकित्सक (एमविवीएस) तथा अहेव र २ जना अनमी गरी जम्मा ४ जनाको प्राविधिक टोली गठन गरी निजगढ प्रा.स्वा.के. मा २४सै घण्टा संचालनमा रहने गरी सर्पदंश व्यवस्थापन कार्यक्रम शुरु भयो । यसका साथै सर्पदंश व्यवस्थापनमा आवश्यक पर्ने औजारहरु (Oxygen Cylinder, Suction Machine, Ambubag, Nebulizer etc.) पनि नगरपालिकाको सहयोगमा जुटाउने काम भयो । साथै जिल्ला स्वास्थ्य कार्यालय, बाराको अनुरोधमा मध्यमाञ्चल मेडिकल स्टोर, हेटौँडाबाट Anti Snake Venom पनि प्राप्त भयो । स्वास्थ्य संस्था र स्थानीय निकाय बीचको समन्वयले गर्दा शुरुवातको दिनहरु देखि नै सर्पदंशका विरामीहरु आउने क्रम शुरु भयो । नगरपालिकाको तर्फबाट नियमित रुपमा सर्पदंश व्यवस्थापन कार्य संचालनको लागि आवश्यक सहयोगहरु र समन्वयहरु प्रा.स्वा.के. लाई हुन थाल्यो ।

स्थानीय रुपमा एक प्रमुख स्वास्थ्य समस्याको रुपमा लिइएको सर्पदंश प्रकोपलाई व्यवस्थापन गर्नको लागि हालका दिनहरुमा निजगढ प्रा.स्वा.के. मा २४सै घण्टा सेवा संचालनमा रहेको छ । सर्पदंशको बढी प्रकोप हुने समयमा मासिक सरदर ३० जना विरामीहरु निजगढ लगायत छिमेकी जिल्लाहरु रौतहट र मकवानपुरको नजिकको गाउँहरुबाट समेत सेवा लिनको लागि आउने गर्नुहुन्छ जसमध्ये विषालु सर्पदंशको विरामीहरु करिब ३ देखि ५ जना सम्म हने गर्दछ । बिरामीलाई २४सै घण्टा निगरानीमा राखी उपरोक्त प्राविधिक टोलीबाट आवश्यकता अनुसार र सर्पदंश व्यवस्थापन Protocol को परिधिमा रही Anti Snake Venom द्वारा औषधी उपचार तथा व्यवस्थापन गर्ने गरिएको छ । सो क्रममा कुनै विरामीमा थप जटिलताहरु पैदा भएमा साथै प्रा.स्वा.के.मा उपचार हुन नसक्ने प्रकृतिको सर्पदंश विरामीलाई नजिकमा रहेको नारायणी उपक्षेत्रीय असपताल, विरगंजमा समेत प्रेषण गर्ने गरिएको छ । प्रा.स्वा.के.मा रहेको सर्पदंश व्यवस्थापन कार्यक्रम प्रति समुदायको जनविश्वास बढ्नुको साथै EDCD, म.क्षे.मे.स्टोर, हेटौँडा, जि.स्वा.का. बाराका साथै नगरपालिकको सहयोग तथा समन्वय रहँदै आएको छ ।

यसरी स्वास्थ्य संस्था र स्थानीय निकाय विचको राम्रो समन्वय भएमा सर्पदंश व्यवस्थापन कार्यक्रमको संचालन स्थानीय निकायको सहयोगबाट पनि सम्भव हुन सकिने रहेछ । मेरो यो प्रयास र सफलताको अनुभव विशेष गरी सर्पदंश प्रभावित क्षेत्रहरुमा रहेको सबै स्वास्थ्य संस्थाहरु र स्थानीय निकायलाई बाँड्न चाहन्छु ।

रमेश लामा
हे.अ. अधिकृत छैठौ तह, निजगढ प्राथमिक स्वास्थ्य केन्द्र, बारा

Share this: