Written Stories

मानसिक रोग, एक सामाजिक समस्या

20 Mar, 2017 By: Bishwa Nath Shrestha

मानसिक स्वास्थ्यको उपचार सेवा अत्यन्तै सीमित र शहर केन्द्रित रहेकोमा बिगत २ वर्षदेखि बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको सहयोगमा समूदाय स्तरमा बेलैमा पहिचान तथा उपचार सेवा प्रदान गर्ने उद्देश्यले सामूदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सूचना तथा शिक्षाको अभावको कारणले गर्दा मानसिक समस्यालाई सामाजिक कलंकको रुपमा लिने गरेकोले मानसिक समस्याबाट पिडित ब्यक्तिहरु खुल्ला रुपमा समाजमा बाहिर आई उपचार प्रकृयामा आउन सकेका छैनन् । जसले गर्दा समयमा उपचार तथा उचित मनोपरामर्श सेवा नपाई समस्या झन् झन् जटिल हुने गरेको छ । अन्ततः मानसिक समस्या समाजमा प्रमुख स्वास्थ्य एवं सामाजिक समस्याको रुपमा देखिएको छ ।

२०७३ साल भाद्र २० गतेका दिन, सधैं झैं म बहिरङ्ग विभागमा बिरामी जाँच गर्न ब्यस्त थिएँ । एकजना अधबैशे महिला अर्की महिलालाई लिएर बिरामी पूर्जा हातमा लिई कोठामा प्रबेश गरिन् । ती महिला झट्ट हेर्दा बिरामी जस्ती नदेखिए पनि मैलो कपडा लगाएकी, कमजोर ब्यक्तिगत सरसफाई, अनि तीन–चार दिनदेखि कपाल नकोरे जस्तो देखिन्थ्यो । मैले ती महिलाको पूर्जा हेरें । उनी ३८ वर्षकी रहिछन् र सोधें, के समस्या भएर आउनुभयो ?

मेरो प्रश्न भूईंमा खस्न नपाउँदै उनले फटाफट जवाफ फर्काइन् — मलाई केही भएको छैन, यिनीहरु (विरामीकी दिदी) सबै मिलेर मलाई जहिले पनि गाली गर्छन्, पिट्न खोज्छन्, रिस उठाउँछन् अनि मलाई नै उपचार गर्न ल्याउँछन् । उनले फेरि थपिन्, मलाई मार्ने षड्यन्त्र गर्छन्, म घरमा पनि बोझ भएँ रे, माइतीमा पनि बोझ भएँ रे, गाउँका मानिसहरुले राम्रा मान्छे भन्छन् तर घरकै मान्छेहरुले मलाई पत्याउँदैनन्, मेरो कुरा कसैले मान्दैनन् । ती महिला मकै पड्के जस्तो गरी बोलिन् ।

झट्ट सुन्दा ती महिलाको कुरा वास्तविकता जस्तै लागेपनि मलाई शंका लाग्यो, त्यसैले मलाई उनकी दिदीसँग पनि केही कुरा सोध्न मन लाग्यो । मैले उनकी दिदीलाई उनको पारिवारिक पृष्ठभूमिको बारेमा सोधें । उनको घर केरौन, मोरङ्गमा रहेछ । हाल उनी माइतीमा बसोबास गरिरहेकी रहेछन् । चार महिना अघिसम्म उनी सामान्य अवस्थामा थिइन् । तर ४ महिना पहिलेदेखि उनले अनौठो स्वभाव देखाउन थालिन् । पहिले थोरै बोल्ने स्वभाव भएकी ती महिला अचानक धेरै बोल्न थालिन्, सबैलाई अविश्वास गर्ने, रिसाई रहने, घर छाडेर हिंड्ने गर्न थालिन् । त्यसैले गर्दा घरमा दिनहुँ जसो झगडा हुन थाल्यो । धेरै झगडा हुन थालेपछि उनका श्रीमान्ले माइतीमा ल्याएर छाडिदिएका रहेछन् । माइतीमा ल्याएपछि पनि रातभरि नसुत्ने, खाना नखाने, सबैलाई पिट्न झम्टि रहने, रिसाई रहने, घरको वास्ता नगर्ने समस्या बढ्दै गएछ ।

त्यसपछि मैले उनलाई हालको समय, स्थान तथा व्यक्तिसँग सम्बन्धित केही प्रश्नहरु गरें । जवाफहरु केही सही थियो भने केही अस्पष्ट थियो । उनको शारिरीक जाँच गरें । रक्तचाप : ११०/७०, नाडीको गति : ७८ प्रति मिनेट, तापक्रमः ९८.४ डिग्री फरेनहाइट । अन्य शारिरीक समस्याहरु केही पाइएन । दीर्घ रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुको रोगहरुको इतिहास केही थिएन । ज्वरो आएको, बिगत तथा बर्तमानमा कुनै प्रकारको चोटपटकको इतिहास पनि थिएन । उनको परिवारमा हालसम्म कसैलाई यस्तो समस्या पनि भएको थिएन । कुनै किसिमको शारिरीक समस्याको संकेत नभएको, उनको वास्तविकतासँगको सम्बन्ध टुटेको, ध्यान नदिएको, एकोहोरो हुने, रिसाई रहने, अरुलाई शंका गर्ने जस्ता लक्षण तथा चिन्हहरुको आधारमा उक्त महिलालाई कडा किसिमको मानसिक रोग अर्थात् शीघ्र मानसिक असन्तुलन (acute psychosis) हो भन्ने निष्कर्षमा पुगें । त्यसैले उनलाई बिशेषज्ञ सेवा उपलब्ध अस्पतालमा जान सुझाब दिएँ । तर ती महिलाकी दिदीले आर्थिक अवस्थाको कारणले गर्दा बाहिर लान नसकिने, यहाँबाट नहुने भए घरै फर्काएर लाने कुरा गर्नुभयो । यो जवाफले म अलि अप्ठ्यारोमा परें । प्रेषण गरौं भने बिरामी उपचारमा लैजान मान्दैन, यहीँबाट उपचार शुरुवात् गरौं बिरामीलाई औषधि खुवाउन कठिन छ ।

त्यसपछि मैले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र काठमाण्डौका मानसिक रोग बिशेषज्ञलाई सम्पर्क गरें र उनको सम्पूर्ण समस्याहरु बिस्तृत रुपमा बताएँ । सबै बताइसकेपछि डाक्टरले पनि सकेसम्म एक पटक psychiatrist कहाँ प्रेषण गर्न नै आग्रह गर्नुभयो । मैले प्रेषण गर्दा अन्यत्र लगेर उपचार गराउन नसक्ने भएकाले बिरामी उपचारबाट नै बञ्चित हुन सक्ने कुरा डाक्टरलाई अवगत गराएँ । त्यसपछि उहाँको सल्लाह बमोजिम मैले उपचार शुरु गरें । Tab. Chlorpromazine 100 mg चौध दिनका लागि सुत्नेबेलामा खुवाउन लगाएँ । उपचारका क्रममा लामो समय (१ वर्ष) वा सोभन्दा लामो समयसम्म पनि नियमित औषधि खुवाउनुपर्ने, अभिभावक, परिवार तथा समाजको साथ, सहयोग, माया तथा सम्मानको आवश्यकता पर्ने कुराहरुको बारेमा परामर्श दिएँ । त्यसपछि मनोसामाजिक परामर्शका लागि पठाएँ र कुनै समस्या वा जटिलता थपिए तुरुन्त आउन अन्यथा २ हप्तामा आउनका लागि भने ।

दुई हप्तापछि पुनः ती महिला आईन् तर पहिले भन्दा सफा सुग्घर भई बिल्कुलै फरक ब्यक्तित्वमा । उनले आफ्नो समस्या आधा ठीक भएको र आधा समस्या बाँकी रहेको कुरा बताइन् । मैले बाँकी रहेको आधा समस्या समेत ठीक हुन्छ भने । अरु समस्याहरु केही थपिएको छ कि? भनी सोध्दा उनले समस्या केही नभएको जवाफ दिइन् । अनि उनलाई सधैं यस्तै परिवारको सहयोग र मायाको आवश्यकता पर्ने बारेमा उनकी अभिभावक (दिदी) लाई सल्लाह दिएँ । अब औषधि आफैले खान सक्ने भएकाले औषधिको महत्व र खाने तरीका सबै बिरामीलाई सम्झाएँ । औषधिको मात्रा ५० मि.ग्रा. बढाएर १५० मि.ग्रा. प्रतिदिन सुत्नेबेला खान सिफारिस गरें । अर्को अनुगमन भेटमा आउँदा उनको समस्या ४ भागको १ भाग जति बाँकी रहेको बताइन् त्यसैले पुनः औषधिको मात्रा ५० मि.ग्रा. बढाएर २०० मि.ग्रा. प्रतिदित खान सिफारिस गरें । हाल उनी नियमित अनुगमन भेटमा आइरन्छिन् र उनको समस्या पूर्ण रुपमा ठीक भए पनि ५० मि.ग्रा. प्रतिदिन मेन्टिनेन्स डोजमा राखेको छु । उनी अहिले आफ्नो श्रीमान् र छोराहरु सहित हाँसी खुशी दिनहरु बिताइरहेकी छिन् । उनी भन्छिन् — मैले दोश्रो जन्म पाएँ ।

यस घटना पश्चात मलाई अझै यस क्षेत्रमा लगनशील भएर काम गर्ने हौसला मिलेको छ र यस्ता बिरामीको ब्यवस्थापन निर्धक्कका साथ गर्न सक्ने चिकित्सकीय ज्ञानको विकास भएको छ ।

बिश्वनाथ श्रेष्ठ
हे.अ. (पाँचौ), बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र, मोरङ्ग

Share this: