Written Stories

हृदयघात भएको विरामीको उपचार

05 Dec, 2017 By: Dr. Pradeep Sharma

केही दिन अघि करीव ६१ बर्षको एकजना पुरुष ३ घण्टा अघिदेखि छातीको बायाँ भाग दुखेको समस्या लिएर अस्पताल आउनुभयो । उहाँको नियमित रुपमा चुरोट सेवन गर्ने बानी रहेछ र लगभग तीन महिना देखि विहानीपख चुरोट खाँदा बायाँ छाती हल्का दुख्ने गरेको रहेछ । तर त्यस दिन भने अत्यधिक दुखेको र बायाँ पाखुरादेखि कुमसम्म दुखेको भएर अस्पताल आईपुग्नु भएको रहेछ । हामीले उहाँको तुरुन्तै ECG ग-यौं जसबाट उहाँलाई हृदयघात (Myocardial Infarction) भएको देखियो । यो अत्यन्तै जटिल अवस्था हो । त्यसैले हामीले तत्कालै Tab Aspirin 300 mg, Tab Isodril 5 mg तथा दुखाई कम गर्न Inj. Morphine दियौं । यो अवस्थामा मुटुको रक्तनलीमा जमेको रगतलाई फुटाईएन र रक्तनली खुलाईएन अर्थात् Thrombolytic Therapy दिईएन भने मुटुले काम गर्न छोडेर ज्यान जानेसम्म हुन्छ र त्यो छिटो भन्दा छिटो (६–१२ घण्टा भित्र) दिनुपर्ने हुन्छ । विरामीको आफन्तलाई यी सबै जटिलताहरुको बारेमा बुझायौं र नेपालगंज रिफर गरेर पठाउनु पर्ने जानकारी पनि गरायौं । तर नेपालगंजसम्म जाने बाटो दुईदिनको अविरल बर्षाको कारणले पहिरो आई थुनिएको अवस्था थियो । मसँग मैले पाटन अस्पतालबाट ल्याएको Inj. Streptokinase थियो जुन यो अवस्थाको विरामीमा प्रयोग गर्ने औषधी हो । यो औषधी प्रयोग गर्दा विरामीमा त्यसको Side Effects पनि हुनसक्थ्यो । तर विरामीको अवस्थालाई हेर्दा ढिलो गर्ने कुरा थिएन, त्यसैले विरामीको आफन्तलाई सबै कुरा बुझाएर उच्च जोखिम मंजुरीनामा पत्रमा सही गराएर त्यो औषधी शुरु ग-यौं । हामीले शुरुदेखि नै Cardia Monitor द्वारा विरामीको मुटुको चाल लगायत अक्सिजनको मात्रा निरन्तर निरीक्षण गर्दै थियौं ।

इमरजेन्सीको अवस्थामा आवश्यक पर्ने सबै औषधीहरु adrenaline, atropine, xylocard, mephentermine तयार राखेर विरामीलाई Streptokinase दिने काम शुरु भयो । आधा घण्टासम्म त्यो औषधी दिईराख्दा म विरामीसँगै रहें । भाग्यवश कुनै नराम्रो घटना घटेन र त्यो औषधी दिएको एक घण्टामा उनको छाती दुखाई कम भयो । इसिजीको रिपोर्टमा पनि क्रमवद्ध सुधार देखियो जुन हाम्रो लागि उत्साहजनक थियो । तर खतरा अझै टरेको थिएन । पहिलो घण्टा एकदम खतरायुक्त हुन्छ । यो बेलामा मुटुको चालमा खरावी आउने देखि मुटु फेल हुने र मुटु फुट्ने सम्म हुनसक्छ । हामीले उनलाई अरु औषधीहरु पनि दियौं जसले उनको यो अवस्थाको जटिलतालाई कम गर्दछ ।

करीव दुई बर्ष अघि पनि हाम्रो अस्पतालमा यस्तै किसिमको विरामी आएको थियो जसको अस्पताल आईपुगेको केही समयमै मृत्यु भएको थियो । त्यसैले म यस्तो केश आउनसक्छ भनेर पहिले देखि नै तयार थिएँ र सबै आवश्यक औषधीहरु हाम्रो अस्पतालमा उपलब्ध थियो । त्यसपछि तीन दिनसम्म उनलाई Cardiac Monitor मा नै निरीक्षण गरेर राखियो । उनको सबै parameters हरु सामान्य थियो । चौथो दिनमा उनलाई सामान्य हिड्डुल गर्न लगायौं, तर कुनै समस्या देखिएन । त्यसपछि वहाँले नियमित सेवन गर्नुपर्ने औषधी सहित घर पठाईयो । साथै वहाँलाई प्रेषण पत्र लेखेर गंगालाल अस्पताल काठमाडौं गएर मुटुको Echocardiography र Angiogram गर्नको लागि पठायौं ।

डा. प्रदीप शर्मा
एमडीजीपी, सल्यान जिल्ला अस्पताल

Share this: