Written Stories

सरकारी जागीरको पहिलो बर्ष - कटारी अस्पताल

26 Mar, 2018 By: Dr. Gaurab Shah

२०७३ फागुण २० गते कटारी अस्पतालमा हाजिरी गरेको दिन मेरो जन्म दिन भएकोले पनि मेरो लागि विशेष थियो । अस्पतालको संरचना हेर्दा म दंग थिए । अपग्रेड भएको प्राथमिक स्वास्थ्य केन्द्र यत्रो ठूलो संरचना देख्दा अचम्म पनि लाग्यो र सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रति सम्मान पनि आयो । भवन बनेको ६ बर्ष भइसकेको रहेछ र अझ केही काम बाँकी रहेकोले अस्पतालको भवन हस्तान्तरण हुन सकेको थिएन । आकस्मिक कक्ष चाँही भवनको भुईतल्लामा अस्थायी रुपमा संचालनमा थियो ।

एकमात्र डाक्टर र अन्य स्थायी दरवन्दी खाली भएर होला अस्पतालमा दैनिक १५०–२०० विरामी ओपिडीमा आएपनि सन्तोषजनक सुविधा र उपचारबाट वंचित थिए आम जनता । समग्रमा भन्दा १५ बेडको अस्पताल भए तापनि सेवा सुविधा न्यून थियो । खासमा म आफ्नो जागिरको पहिलो वर्ष अस्पताल व्यवस्थापन मै खर्च गर्ने मनसायले कटारी रोजेको थिएँ । काम कसरी शुरु गर्ने भन्ने चै अन्यौलमै थिए । सरोकारवालासँग समन्वय गरी अस्पतालको भवन हस्तान्तरण लिई काम अगाडी बढाईयो । अचानक निक साइमन्स इन्स्टिच्यूटबाट अस्पताल अनुगमन गर्ने पत्र आयो । अस्पताल सुदृढीकरणको लागि आएको ३२ लाख निर्णय मात्र भएको तर खर्च नभएको कुरा थाहा पाएँ र एक हप्तामा OPD र अन्य ठाउँलाई आवश्यक सामान जुटाउन शुरु गरें । १ हप्तामा करीव १०–१२ लाख खर्च गरियो । NSI Team आउँदा अनुगमनमा Score ५३ दिईयो । त्यसबेला मैले MSS को किताव पाएँ र अवको अनुगमनमा Score ७५ पु-याउने वाचा गरें ।

स्टोरबाट झिकाइयो लाखौंको सामान

मैले सवभन्दा पहिला स्टोर खोलाई करीव ५ लाख बराबरको त्यसै थन्किएका सामानहरु झिकाएँ र स्टोरलाई नयाँ भवनतिर सारें ।

ल्याव, एक्सरे, भिडियो एक्सरे व्यवस्थापन

यस अस्पतालको ल्यावमा प्रशस्तै उपकरणहरु थियो । जसमध्ये धेरै जसो नेपाल रेडक्रसले सहयोग गरेको रहेछ । उपकरण किन संचालनमा आएन भनेर सोध्दा वाइरिङ्गको समस्या देखाईयो । तुरुन्तै वाइरिङ्ग गराई सवै जसो उपकरण प्रयोगमा ल्याईयो । अल्ट्रासाउण्ड कोठा र एक्सरे कोठा सँगसँगै थियो । यसरी गर्भवती महिलालाई भिडियो एक्सरे गर्दा आमा र वच्चा दुवैलाई असर पर्ने भएकोले USG कोठालाई अन्यत्रै सारियो । सादा एक्सरे संचालनमा रहेको तर रेडक्रसद्वारा प्रदान गरिएको डिजिटल एक्सरे अझै संचालनमा नरहेको हुँदा नेपाल रेडक्रसको अध्यक्ष शम्भु थापाज्यूसँग समन्वय गरी डिजिटल एक्सरे पनि संचालनमा ल्याईयो ।

ओपिडी, इमरजेन्सी, डेलिभरी कोठा र चिकित्सक व्यवस्थापन

ओपिडीमा MSS निर्देशिका अनुसार सम्पूर्ण सामान खरीद गरी विरामीको लागि LED सहितको प्रतिक्षा कोठा बनाईयो र Manual Token System र Queue System व्यवस्थापन लागू गरियो । अहिले हामीसँग व्यवस्थित ३ वटा OPD कोठा छ । जहाँबाट दैनिक २०० भन्दा बढी विरामीलाई पाँचजना मेडिकल अफिसरले सेवा दिंदै आएको छ ।

कुनै पनि अस्पतालको मुहार इमरजेन्सी कक्ष र त्यहाँबाट दिइने सेवालाई मानिन्छ । अहिले हाम्रो इमरजेन्सी कक्षमा छुट्टै कार्डियाक मनिटर, कन्सनट्रेटर, ग्लूकोमिटर, सक्सन र Intubation को सामान सहितको आधुनिक उपकरण व्यवस्थापन गरेका छौं । छुट्टै Treatment Room, पर्याप्त Wheel Chair र Trolley को व्यवस्था गरेका छौं र थप ECG मेशीन ल्याएका छौं । यी सवै सामान सुदृढीकरणको रकमबाट र विभागको आपूर्ति शाखाबाट जुटाईयो । माग गरे आवश्यक सामान आपूर्तिले भएसम्म उपलब्ध गराउने रहेछ ।

निशुल्क औषधी र आकस्मिक जति आवश्यक औषधी

जनस्वास्थ्य, मेडिकल स्टोर (पथ्लैया) र सुदृढीकरणको रकमले गत आर्थिक वर्षलाई पुग्ने गरी सम्पूर्ण अति आवश्यक औषधीको खरीद गरी वितरण गर्ने कोठाको व्यवस्थापन गरियो ।

अस्पताल फार्मेसी सुरुवात

जेठ ३१, २०७४ बाट अस्पतालको आफ्नै फार्मेसी संचालनमा आयो । हालसम्म अस्पतालले ९ महिनामा १८ लाख वरावरको औषधी विक्री गरिसकेको छ । जसमध्ये सेवाग्राहीले ३ लाख बराबरको छुट पाएका छन् ।

फोहोरमैला व्यवस्थापन, CSSD र कर्मचारी थप

अस्पतालको सेवा बढ्दै गएपछि अस्तापलमा आम्दानी पनि बढ्दै गयो र बढेको आम्दानीले करीव १० जना कर्मचारी थप गरी विशेष गरी फोहोर व्यवस्थापन र CSSD कोठाको सुरुवात गरेका छौं । संयोगवश अस्पतालमा विभागबाट थप ४३ लाख ढिलो भएपनि आएकोले हामीले त्यो पैसाबाट पार्किङ्ग, ढलाई, ट्रस, अस्पताल परिसर रंगरोगन, टाइल, नर्सिङ्ग स्टेसन, बँगैचा, इनामेल पेन्टिङ्ग, फार्मेसी भवन गरी विभिन्न १७ वटा निर्माण कार्य छोटो समयमा सम्पन्न गरायौं ।

आम जनताको प्रतिक्रिया

दिन प्रतिदिन केही न केही प्रगति भैरहेको देख्दा र विरामीले भरपुर सेवा सुविधा पाएकोले गर्दा आम जनतामा अस्पताल प्रतिको विश्वास धेरै नै बढेको पाइन्छ । पहिला सानो सानो कुरामा झगडा गर्न आउने आज धन्यवाद दिंदै जान्छन् । वजारमा अस्पतालको सेवा सुविधा चर्चाको विषय बनेको छ ।

आगामी दिनको कटारी अस्पताल

अहिलेको राजनैतिक फेरबदलले गर्दा अस्पतालको सेवा प्रवाहमा असर नपुगेको होइन । यस आर्थिक वर्षको २४ लाखको बजेट आज ७ महिना भइसक्दा पनि निकासा नभएको अवस्था छ । धेरैजसो अख्तियारी नगरपालिकामा आएको र केही अस्पतालमा आएकोले दुवै पक्ष अन्यौलमा छन् । तर चाँडै रकम निकासा हुने हुँदा हामीले पुरै अस्पताललाई Digital System मा लैजाने र Indoor/OT सुरु गर्ने प्रक्रिया अगाडी बढाएका छौं र काम अन्तिम चरणमा पु-याएका छौं । MSS Guideline अन्तर्गत हाम्रो कटारी अस्पताल र टिम खरो उत्रने विश्वासका साथ यस अस्पताललाई नेपालकै नमूना १५ वेड अस्पताल बनाउने लक्ष्यका साथ टिम अगाडी बढेका छौं । एक बर्षमा करीव १०० वटा शीर्षकमा कामहरु सकिएको छ र पुराना नयाँ तस्वीर मेरो मोवाइलमा कैद गरिएको छ जसलाई कुनै दिन माथिल्लो निकायका सामू प्रस्तुत गर्ने इच्छा जाहेर   गर्दछु ।

डा. गौरव साह
कटारी अस्पताल, निमेसु

Share this: