Written Stories

त्यो दिनको सम्झना

27 Mar, 2018 By: Man Devi Gautam

त्यस दिन मेरो इभिनिङ्ग ड्युटी थियो । करीव ३ बजे तिर एक जना बिरामी इमरजेन्सीमा आउनु भयो । बिरामीको आफन्त थिएन । गलेश्वर वृद्धाश्रममा बस्ने बेसहारा भएकोले एकजना सहयोगीले अस्पतालसम्म ल्याउनु भएको रहेछ ।

बिरामी अस्पताल आउनुको कारण गोडाको घाउ उपचार गर्नु थियो । मेडिकल भाषामा गोडामा भएको त्यो घाउलाई Neglected wound भनिन्छ । सो घाउले यति दुर्गन्ध फैलाएको थियो कि अरु भर्ना भएका बिरामीहरुले नाक थुनेर बसेका थिए । उनीहरुले यस्तो बिरामी भर्ना नगर्नु अरुलाई असर भयो भन्न थाले । बिरामीको अवस्था ज्यादै नाजुक थियो । हिडडुल गर्न नसक्ने र सरसफाईको अवस्था पनि दयनीय थियो । घाउ सडेर पिप बगेको थियो, दुर्गन्धित थियो, लगभग खुट्टाको ८०% भागमा घाउ फैलिएको थियो । धेरै दिन देखि ड्रेसिङ्ग नभएको त्यो घाउमा कुनै सिनोमा जसरी किराहरु परेर सढाउँछन् त्यस्तै प्रकारको किरा म्यागोट्स परेर झन् खराब भएको थियो । म्यागोट्स हेर्दा लाग्दथ्यो कि त्यो कुनै निर्जिव अंग हो । मासु नभएको कारणले हड्डी समेत बाहिरैबाट देख्न सकिन्थ्यो ।

घाउ सफा गर्दा आट्र्री फोरसेपले सडेको मासु तथा जिउँदो म्यागोट्सलाई निकाल्दै सफा गरियो । म्यागोट्स निकाल्न खोज्दा अलि अलि मात्र निस्कियो, धेरै जसो त घाउ भित्र नै रह्यो । त्यसैले हामीले त्यो म्यागोट्स घाउ भित्र नरहोस भनेर त्यसमा कपुरको धुलो बनाई हालिदियौं । लगभग ३–४ घण्टामा त्यस घाउबाट म्यागोट्सहरु मरेर झर्न थाल्यो । क्रमिक रुपमा घाउको ड्रेसिङ्ग भईरह्यो ।

घाउ निकै गहिरो र टिबिया हड्डी नै बाहिरबाट देखिने अवस्थाको थियो । त्यसो हुनाले घाउ सफा गर्नु भन्दा पहिला अर्थोपेडिक डाक्टर रोशन न्यौपाने सहितको टिमले बिरामीको जाँच गर्नुभयो । उहाँहरुले पनि घाउ निकै संक्रमित भएको हुँदा सुविधायुक्त सर्जरी सेवा भएको ठाउँमा उपचार गर्नुपर्छ भनेर उहाँको भिजिटरलाई सल्लाह दिनुभयो । यसको साथै भविष्यमा छाला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिनुभयो । तर बिरामीको कोही पनि आफ्नो मान्छे नभएको र रिफर गरी बाहिर जान सक्ने अवस्था नभएपछि हामीले बेनी अस्पतालमा नै उपचार गर्ने निर्णय ग¥यौं । डा. रोशन न्यौपानेले छाला प्रत्यारोपण गर्ने योजना बनाउनु भयो तर त्यसका लागि घाउ स्वस्थ्य हुनुपर्ने थियो । त्यसबेला हाम्रो अस्पतालमा भर्खरै मात्र अपरेशन सेवा शुरु भएको र छाला प्रत्यारोपणको लागि कुनै पनि औजारहरु उपलब्ध थिएन । तर प्राविधिक रुपमा डा. रोशन न्यौपानेले छाला प्रत्यारोपण गर्ने कार्य धेरै गर्नुभएको र यो सम्बन्धी कुराको बिशेषज्ञ हुनुहुन्थ्यो ।

यस बिषयमा स्टाफ मिटिङ्गमा पनि छलफल भै छाला प्रत्यारोपण गर्न सकिने र त्यसका लागि आवश्यक औजार तथा उपकरणहरु विकास समितिबाट जुटाउने र बिरामीलाई जसरी भए पनि निको पारेर पठाउने अठोटका साथ निर्णय गरियो । बिरामीको घाउ नियमित रुपले ड्रेसिङ्ग गर्ने, म्यागोट्सहरु निकाल्ने र एन्टिबायोटिक्सको प्रयोग गरी उपचार हुँदै गयो । उक्त बिरामीको घाउ पनि क्रमिक रुपमा सुधार हुँदै गयो । भर्ना भएको ४५ दिन पछि छाला प्रत्यारोपण गर्ने योजना तय भयो र त्यसै अनुसार बिरामीको तिघ्राबाट छाला निकाली प्रत्यारोपण गरियो । बेनी अस्पतालमा पहिलो पटक गरिएको यो अप्रेशन सफलतापूर्वक सम्पन्न भयो । त्यसको १५ दिनपछि उक्त बिरामीलाई आफैैं हिड्न सक्ने बनाएर डिस्चार्ज गरियो ।

हाम्रो जस्तो न्यून साधन श्रोत र जनशक्ति भएको ठाउँमा पनि व्यवस्थापन पक्षबाट सहयोग तथा समन्वय भएपछि धेरै राम्रा काम गर्न सकिंदो रहेछ भन्ने यो एउटा गतिलो उदाहरण हो । अपरेशन सेवाका लागि निक साइमन्स इन्स्टिच्यूटबाट बेनी अस्पताल म्याग्दीलाई जति सहयोग भएको छ त्यो म्याग्देली जनता लगायत पर्वत, मुस्ताङ्ग र बाग्लुङ्गका जनताको लागि अपरिहार्य सेवा संचालनमा मद्दत पुगेको छ । त्यसैले निक साइमन्स इन्स्टिच्यूटलाई ह्ृदय देखि नै धन्यवाद दिन चाहन्छु । साथै व्यवस्थापन पक्षमा रही बेनी अस्पताललाई जति सक्दो राम्रो बनाउन तल्लीन रहनु भएका मे.सु. डा. रोशन न्यौपाने र अस्पताल व्यवस्थापन समितिको अध्यक्षज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । त्यो अवस्थाको बिरामीलाई निको बनाएर पठाएको दिन अहिले पनि मेरो सम्झनामा आईरहन्छ ।

मनदेवी गौतम
अस्पताल नर्सिङ्ग निरीक्षक, बेनी अस्पताल, म्याग्दी

Share this: