Written Stories

सपना देखियो, पुरा भयो

28 Mar, 2018 By: तोयानाथ ढुंगेल

जहाँ इच्छा त्यहाँ उपाय भने झै मैले आफ्नै नेतृत्वमा हर्नामाडी स्वास्थ्य चौकीमा स्वास्थ्य सेवामा आमुल परिवर्तन गर्न समक्ष भएकोमा आज खुसीले गदगद त छँदैछु सेवा निरन्तरताको लागि सृजनशील तरिकाले नयाँ योजनामा अग्रसर पनि छु ।

२०६१ साल माघको पहिलो साता हर्नामाडी स्वास्थ्य चौकी मकवानपुरमा हाजिर हुँदा एउटा कोठालाई काठको फल्याकले पार्टेसन गरेर अन्य संस्था जस्तै कच्ची र सानो भवनबाट सामान्य तर नियमित रुपमा गुज्रिरहेको स्वास्थ्य चौकी आजसम्म आइपुग्दा हरेक कोणबाट सुविधा सम्पन्न भवनमा जिल्लाकै उच्च प्रगति हासिल गर्ने नमुना स्वास्थ्य चौकीको नेतृत्व मात्र गरिरहेको छैन यस बीचमा २ पटक स्थानीय निकाय र आम नागरिक भेलाबाट सम्मान सहितको नागरिक अभिनन्दनको अवसर मिलेको छ । नागरिकबाट कर्मचारीले काम गरेनन भन्ने गुनासो सर्वत्र आइरहेको परिवेशमा हर्नामाडीका नागरिक एवं स्थानीय सर्वदलीय संयन्त्रको निर्णयले आफ्नो सिंगो कर्मचारी टिमलाई २ पटक नागरिक सम्मान गरेको पाउँदा योगदानको उच्च मूल्यांकन भएको महशुस गरेको छु र थप जिम्मेवारी पनि थपिएको महशुस भएको छ ।

हर्नामाडी स्वास्थ्य चौकीको प्रगति एवं हालका कार्यक्रमहरु

१. खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरियो भने निरन्तरताको लागि हाल अनुगमन कार्य जारी छ ।
२. जिल्लामै एकमात्र साविक हर्नामाडी गा.वि.स. घरभित्रको धुँवारहित घोषणा गर्न अगुवाई गर्दै हाल निरन्तरताको अनुगमन जारी राखेका छौं ।
३. हालको हेटौंडा उपमहानगरपालिका क्षेत्रकै पहिलो संस्थाको रुपमा साविक हर्नामाडी गा.वि.स.लाई पूर्ण खोप घोषणा गरी हाल पूर्ण खोप दिवसको दोश्रो वार्षिकीको निरन्तरताको योजनामा केन्द्रित रहेका छौं ।
४. मकवानपुर जिल्लामै साविक हर्नामाडी गा.वि.स. लाई No Home Delivery Zone को रुपमा गत ३ बर्षदेखि अभियान संचालन गरी दक्ष प्रसुतिकर्मी (SBA) बाट शत प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा गराउन सफल रहेका छौं ।
५. चौविसै घण्टा डट्स सेवा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा संचालन गरिरहेका छौं ।
६. कार्यक्रम क्यालेण्डर मार्फत् गर्भवती सेवा अनुगमनको लागि कर्मचारीद्वारा सेवाग्राहीलाई फोनकल गर्ने व्यवस्था नियमित बनाएका छौं ।
७. Rapid Response Scheme बनाई Delivery Case लाई उद्धारको व्यवस्थापन मिलाएका छौं ।
८. आफ्नै कार्य योजनामा नागरिक कै लगानीमा एम्बुलेन्स संचालन तथा सफल व्यवस्थापन गरिरहेका छौं ।
९. भुकम्प पछिको ६ महिनासम्म आपत्कालीन सुत्केरी स्याहार केन्द्र स्थापना गरी प्रसूति अवस्थामा १ हप्ता सोही केन्द्रमा स्याहारको सफल व्यवस्थापन गरी सेवाको नमुना प्रस्तुत गरिसकेका छौं ।
१०. वार्षिक/मासिक/दैनिक कार्यक्रम क्यालेन्डर अनुसार आफ्नो क्षेत्रमा नियमित कार्यक्रम संचालन गरिरहेका छौं ।
११. स्थानीय संघसंस्था, समुदाय एवं नागरिकको लागत सहभागितामा सुविधा सम्पन्न ७ कोठा भएको भवनबाट सम्पूर्ण सेवा प्रवाह गर्न समुदायको सफल परिचालन गरिरहेका छौं ।
१२. कार्य क्षेत्र भित्रका नागरिकको सुविधालाई ध्यानमा राखी समुदायस्तरमा थप २ कोठे आफ्नै भवन निर्माण गरी समुदायमा आधारित वर्थिङ्ग सेवा व्यवस्थापन तथा संचालन गरिरहेका छौं ।
१३. गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी परिवार नियोजन सेवाको अत्याधिक पहुँच पु¥याई जिल्ला भरिकै न्यून जन्मदर र न्यून मृत्युदर कायम गर्न सफल भएका छौं भने स्वास्थ्यका सबै सेवालाई उच्च प्राथमिकतामा राखी समान रुपले प्रवाह गर्न सफल भएका छौं ।

अन्तमा, सहयोगी व्यवस्थापन समिति, सकारात्मक सोच बोकेको समुदाय, का मगर्ने इच्छा शक्ति भएको कर्मचारी टिम र उचित समन्वय गरिदिने जिल्ला जनस्वास्थ्य कार्यालय भएकै कारण यी सबै उपलब्धी हासिल गर्न मेरो नेतृत्व सफल भएको हो भन्ने ठान्दछु ।

तोयानाथ ढुंगेल
सिअहेव (छैठौं)
हर्नामाडी स्वास्थ्य चौकी, हेटौंडा

Share this: