Written Stories

दुर्गममा दुर्गमकै बस्तुको उपयोग गरी उपचार

29 Aug, 2018 By: Dr. Durga Raj Maharjan

निक साइमन्स इन्टिच्यूट (NSI) को अस्पताल सहयोग कार्यक्रम अन्तर्गत रहेर नेपालको दुर्गम अस्पताल बाजुरा जिल्ला अस्पतालमा कार्यरत रहँदाको एक अनुभवलाई बाढ्न चाहान्छु । मृत्युको मुखबाट कुनै पनि बिरामीलाई खोसेर ल्याउन सक्दा डाक्टरको मन पनि फुरुंग हुँदोरहेछ । बाजुरा जिल्ला अस्पतालले एकपछि अर्को प्रगति र सुधार गर्दै लगेको देख्दा मलाई खुसी लाग्छ । बिरामीहरुले यहीं उपचार गर्न मिल्ने रोगको लागि रिफर हुनु नपरेको देख्दा अझै केहि गरूँ जस्तो लाग्छ । जब अस्पतालको हाकिम देखि कार्यालय सहयोगीसम्म कै कर्मचारीहरुले मलाई सहयोग गर्छन् जिल्ला अस्पताल रहेता पनि अञ्चल अस्पतालले भन्दा कम सेवा दिएको छैन जस्तो भान हुन्छ ।

असोज महिनाको सुरुवातसंगै अनेक चुनौतिहरु पार गर्दै अस्पतालले आफ्नै फार्मेसी सुरुवात ग-यो । यसले मन साह्रै खुशी भयो । चुनौति जति आए पनि हामी डराउनु पर्दैन । जनताले धरै आश राख्न थालेका छन् भने हामी पछि हट्नु पर्दैन । देशैभरिका प्रायः सरकारी अस्पतालमा बिरामीलाई लगातार २४सै घण्टा अक्सिजन दिनुपरेमा त्यसको व्यवस्थापनको लागि अस्पताललाई गाह्रो हुन्छ । एकजना नवजात शिशु सासै फेर्न नसक्ने अवस्थामा Severe Neonatal Sepsis र मेनिन्जाइटिस (Meningitis) को लक्षण लिएर आइपुगे । उनको बुबाआमा अस्पतालले उनको ज्यान बचाउलान् भनेर ठुलो आश लिएर आएका थिए तर हाम्रा स्टाफहरुमा यो शिशु बाँच्ने एकदमै कम आश थियो । डा. टीकाराम राईले वच्चालाई हेर्ने बित्तिकै उसको अवस्था बुझेर तुरुन्तै हातमा IV Canula खोलेर antibiotics दिए र oxygen को व्यवस्था गर्न लागे । बच्चा बिहान ल्याएको थियो र Oxygen Cylinder नभए तापनि वार्डको कन्सन्ट्रेटरबाट उसलाई अक्सिजन दिने व्यवस्था गरियो । यस्तो दुर्गममा नबजात शिशुलाई मिल्ने साइजको अक्सिजनको ट्युब पाउन पनि कठिन थियो । त्यसैले एक Headbox पनि जुटायौं जसबाट नवजात शिशुको टाउको घेरेर बढी मात्राको अक्सिजन दिन सकिन्छ । अक्सिजन दिन थालेको केही समयपछि थोरै सुधारको लक्षण देखिन थाल्यो । बच्चाको बुबाआमालाई उनको ज्यान जोखिममा रहेको जानकारी अग्रीम नै गराइएको थियो । तर हामीले हार मानेको छैनौं पनि भनेर हौसला बढायौं, किनकी बाजुराबाट रिफर गरेमा १.५/२ दिन लगाएर धनगढी वा नेपालगन्ज पुग्नु अगावै बाटोमै ज्यान जाने थियो ।

त्यसै दिन दिउँसो फेरी अर्को ४ दिनको बच्चा सिकिस्त निमोनियाँ (Severe Pneumonia) र जन्मेदेखि दिसा नगरेको अवस्थामा ल्यायो । एकैदिन अक्सिजनको जरुरत दुईजना शिशुलाई भयो तर स्रोत भने एउटामात्र थियो । दोस्रो शिशुलाई पनि अक्सिजनको कसरी बेवस्था गर्ने भनेर जुक्ति निकाल्न थाल्यौं । गएको चैत महिनाको हाडजोर्नीको शिविरबाट प्राप्ट दुई मुखे सक्सन ट्युबको प्रयोग गरेर दुबैलाई अक्सिजन दिने व्यवस्था मिलायौं । एक अक्सिजन नेजल केनुलालाई काटेर CPAP बनायौं । दुबै शिशुलाई लगातार अक्सिजन दिनुपर्ने थियो । त्यसैले अक्सिजन कन्सन्ट्रेटर तातेर नबिग्रियोस भन्नाको लागि ईमजेन्सीको पुरानो अर्को अक्सिजन कन्सन्ट्रेटर ल्याएर पालैपालो चलायौं ।

हालै सुरु भएको हाम्रो अस्पतालको फार्मेसीसबाट बिरामीलाई हामीले ICU मा प्रयोग गरिने महंगो र कडा एन्टिबायोटिक र अन्य औषधीहरु पनि उपलब्ध गराएर उपचार गर्न सफल भयौं । आमाको दुध चुस्न नसक्ने र नमिल्ने भएकोले नेजोगेस्ट्रिक ट्युबबाट (Nasogastric Tube) खुलायौं । बेबि वार्मर बिग्रिएकोले बिरामीहरुको तापक्रमको सन्तुलनको लागि हिटर, न्यानो कपडा र आमाको मायाको अंगालो (Kangaroo Mother Care) प्रयोग गर्यौ । ड्युटीका नर्सिंग स्टाफबाट नियमित औषधि दिनुका साथै १/२ घण्टाको फरकमा भाइटल मोनिटरिंग भइरह्यो । सक्सन मेसिन र ट्युब नभए पनि Meconium Aspirator र Penguin suctioner बाट घण्टा घण्टामा आफ्नो मुखले सक्सन गरिरहे ।

अस्पतालमा लोडसेडिंङ्गको पनि निकै समस्या छ । दिनको १०/१२ घण्टा बिजुली नआउने भएपछी अस्पतालको सानो जेनेरेटर वार्डमै ल्याएर कार्यालय सहयोगी दाईले बिजुलीको ब्यवस्था मिलाईदिनुभयो । सघनकक्ष (NICU) मा राखेर उपचार गर्नु पर्ने शिशुहरुलाई यहाँ SNCU Ward नभए पनि जेनरल वार्डकै बेडमा राखेर उपचार गर्यौं तर सेवा सघनकक्षको जस्तै दिएर । अस्पतालको पुरै टिमले मलाई सहयोग गर्नुभयो । ४ दिनपछि शिशुहरूलाई अक्सिजन दिनु नपर्नेभयो । बच्चाहरू बाँचेपछि स्टाफहरुको मनोबल बढ्यो । त्यसैदिन ४ हप्ताका दुई नियोनेट (neonate) हरु अति सिकिस्त निमोनियाका लक्षणका साथ भर्ना गरियो र उसैगरी अक्सिजनको बेवस्था गरी उपचार गरियो । दोस्रो शिशुको निमोनियाँको उपचार पश्चात् दिसा नगरेको कारण आन्द्राको समस्याको शंकामा नेपालगंजमा अपरेसनको लागि रिफर गरियो र अरु शिशुहरुलाई डिस्चार्ज गरी घर पठाईयो ।

यस महिनामा अरु पनि निमोनियाका बच्चाहरु भर्ना हुदै उपचार गर्दै घर गएका छन् । अब नर्सिङ्ग स्टाफहरुले पनि सिकिस्त बच्चाहरुको स्याहार गर्न सिक्दैछन् । मैले पनि सुगममा ठुलो अस्पतालमा अध्ययन गरेर सिकेको ज्ञानले मात्र दुर्गममा उपचार गर्न नसकिने र लोकल बस्तुहरुको उपयोग गरेर पनि नयाँ तरिकाले उपचार गर्न सकिन्छ भन्ने बुझ्दैछु । पहिला दुर्गममा डाक्टर छैन भन्थे, अब डाक्टर छ तर सामान र सहयोगीहरु छैनन् भनेर बस्नुको सट्टा लोकल बस्तुको उपयोग गरेर नयाँ तरिकाले पनि हामीले उपचार गर्न सक्छौं । सरकारबाट यस क्षेत्रको बिकासको लागि अझ सहयोग हुनेछ भन्ने आश गर्दछु, जसले हाम्रो हौसला अझ बढ्नेछ । किनकी बाजुरा दुर छ, तर नेपाल भित्रै छ । SNCU को स्थापना चाँडो होस । यही छ कामना ।

डा. दुर्गा राज महर्जन
एमडिजीपि, बाजुरा जिल्ला अस्पताल

Share this: