Written Stories

Continuous Medical Education (CME) ले जोगाएको एक जीवन

05 Apr, 2019 By: Dr. Amrit Pokhrel

मिति २०७५/८/२८ गते राति ३:३० बजे लेबर रूमबाट हाम्रो गाइनोकोलोजिस्ट डा. शंकर राउतलाई “गर्भको शिशुको मुटुको धड्कन सुन्न सकिएन, डाक्साप छिटो आउनु पर्यो” भनेर सिस्टरको कल आयो । डा. राउत उमेरले हाम्रो अस्पतालका सबै भन्दा पाको डाक्टर हुनुहुन्छ, तर वँहाको काम गर्ने जोश अनि उर्जा सबैभन्दा कान्छा डाक्टरको भन्दा धेरै गुणा बढी छ र हर प्रहर, चौबिसै घण्टा जहिले पनि तत्पर र साँच्चै भन्ने हो भने वँहाको समय आफ्नो कोठाभन्दा बढी लेबर रूम, OPD अनि इमर्जेन्सी कक्षमा बित्छ । सेवाभावले ओतप्रोत यी चिकित्सक तलबै नखाएर पनि बिगत पाँच महिनादेखि हाम्रो अस्पतालमा सेवारत छन् र यस्तै यस्तै कर्मठ अनि उर्जाशील युवा चिकित्सक, नर्स, प्यारामेडीकल, ल्याब, एक्स–रे अनि सम्पूर्ण सहयोगी साथीहरुको बलमा हाम्रो अस्पतालले चमत्कारी कामहरु गर्दै आएको छ । आज पनि त्यस्तै एउटा चमत्कार झैँ लाग्ने गरी एक नबशिशुलाई मृत्युको मुखबाट खोसेर ल्याउन सफल भएको छ हाम्रो टोली ।

प्रसवको दोश्रो स्टेजमा पुगिसकेकी महिलाको त्यो पहिलो गर्भ थियो । अत्यन्त रहरका साथ ती युवा दम्पत्तिले भाबी जन्मिने शिशुसंग धेरै सपनाहरु बुनिसकेका थिए । मानौ अब केहि समयमा तिनको ९ महिनाको प्रतिक्षा कलिलो शिशुको रोदनबाट सुन्दर यथार्थमा परिणत हुनेछ । अनि उत्साहित त्यो पिताले लेबर रुम बाहिर आफूलाई छोरीको एकदमै रहर भएको र भगवानसँग प्रार्थना गरेको कुरा बडो उत्साहित हुँदै हामीलाई सुनायो । पुतलीबजार नगरपालिकाको बजारमै बस्ने ती दम्पतीले आफ्नो मिठो सपना साकार गरिदिन ठूलो बिश्वास गरेर हाम्रो अस्पतालमा आएका थिए ।

डा. राउत जटिलतायुक्त प्रसूति गराउन पोख्त हुनुहुन्छ । लेबर रूममा वँहा आउँदा सबैलाई हौसला मिल्छ र जस्तो सुकै केस पनि गर्न सक्ने आँट हाम्रो टोलीलाई आउँछ । छोरीको जन्म भयो, ती उत्साहित बुबाले भने जस्तै भयो, तर शिशु रोएन । सुरुको केही सेकेन्ड शिशु नरुनु सामान्य हो, तर सबै प्रक्रियाहरु पुरा गर्दा पनि त्यो शिशु रोइन, नत श्वास नै फेरी उसले । लेबर रूममा अब तनाबको वातावरण सृजना भयो । एक मिनेट बितिसकेको थियो, आमाको स्याहार गर्ने जिम्मा सिस्टरलाई लगाएर डाक्टरको टोली शिशुको ज्यान जोगाउन लागीसकेको थियो । न उसको श्वास थियो नत मुटुको धड्कन नै । यत्तिकैमा सिस्टर कराउनु भयो “डाक्टर अर्को बच्चा पनि छ” । नभन्दै अर्को छोरीको जन्म भयो, अनि उसले लेबर रूमनै उचाल्ने गरी रोइ । तर उसको तौल पनि १ किलो ६०० ग्राम मात्रै थियो ।

यता पहिलो शिशुले जीवित हुनुको कुनै पनि लक्षणहरु देखाई रहेको थिएन । हामीलाई बिश्वास गरेर आउनेलाई निराश पार्न हाम्रो आँट आइरहेको थिएन । हो यस्तो बेलामा देखिन्छ स्वास्थ्यकर्मीको दक्षता अनि लगनशीलता । उसले हाशिल गरेको सीप अनि तालिमको औचित्य । तालिम राष्ट्रिय वा अन्तर्र्रािष्ट्रय नै हुनु पर्दैन । आफ्नै जिल्ला अस्पतालमा नियमित हुने CME को बेला आर्जन गरेको सीप नै कसैको जीबन रक्षाका लागि वरदान साबित भै दिन्छ । दुई महिना अगाडी मात्रै हामीले “जन्मदा निसास्सिएको शिशुको व्यवस्थापन” हाम्रो नियमित CME मा सिकेका थियौं । अस्पतालका हरेक प्राविधिक साथीले सैद्धान्तिक मात्रै होइन प्रयोगात्मक समेत गरेर यो सीप परेको खण्डमा व्यवहारमा लागू गर्न सक्ने गरी सक्षम भएका थिए । बाल रोग बिषेशज्ञ भएको नाताले उक्त CME को प्रशिक्षक म नै थिए । हुनतः यो तालिम HBB का नामले प्रचलित छ । तर मैले यसलाई समुदायस्तरमा प्रदान गरिने भन्दा जिल्ला अस्पताल स्तरको बनाएर यसको परिमार्जित रुपलाई साथीहरुलाई सिकाएको थिए । सामान्यतयाः HBB ले Bags and mask ventilation भन्दा माथिको सीप सिकाउँदैन । जन्मिदा मुटुको चाल नभएको र श्वास नफेरेका शिशुलाई त्यही मात्र गर भन्छ । तर हामीले अन्तर्राष्ट्रिय मान्यता र अनुभवहरुलाई मध्यनजर गर्दै Bags and mask गरेको एक मिनेट पछि मुटुको गतिलाई आधार मानेर CPR (Cardio Pulmonary) पनि गर्ने गरी तालिममा समावेश गरेका थियौं । त्यसको नतिजा अत्यन्त उत्साहवर्धक रह्यो । CPR सुरु गरेको ६ मिनेटमै उसको मुटुको चाल आयो अनि त्यसको केही बेरमै उसले श्वास फेर्न थाल्यो । यो हामी सबैको लागि अत्यन्त खुसीको क्षण थियो । जन्मदा प्राय मृत शिशुलाई ८ मिनेटपछि कालको मुखबाट खोसेर ल्याउन हामी सफल भएका थियौं । तर यति लामो समयसम्म मृतसरी अबस्थामा रहेको शिशुलाई कति धेरै जटिलता हुन सक्छ भन्ने कुराको आँकलन गर्न मलाई कठिन थिएन । झन् उसको तौल १८०० ग्राम मात्रै थियो । हाम्रो अस्पतालमा गण्डकी प्रदेशकै नमुनाको रुपमा संचालित Newborn Care Unit रहेकोमा हामीलाई गर्व लाग्छ । हामीले अहिलेसम्म ३६ जना नवजात शिशुहरुलाई यस उपचार कक्षबाट निशुल्क उपचार गरी सकेका छौं । १३ दिनको बसाईको क्रममा त्यो शिशुलाई अनेकौ जटिलताहरु आए । तर मेरो नेतृत्वमा हाम्रो टोलीले ती सबै जटिलताहरु (HIE grade 1,Early Onset of Neonatal Sepsis, Neonatal Hyperbilirubinemia, Hypoglycemia) को कुशलतापूर्वक उपचार गर्न सफल भयो । उपचारको क्रममा धेरै पटक त्यो दम्पत्तिले मात्रै होइन हामीले पनि आश मार्ने अवस्थाहरु सृजना भएका थिए । तर बुवाआमाको विश्वास अनि गर्न सकिन्छ भनेर दिनरात नभनी खट्ने हाम्रो टोलीको अथक प्रयासले १२ औं दिन देखि त्यो शिशुले आफ्नो आमाको स्तनबाट नै दुध खान सक्षम भैसकेको थियो केही समयको अन्तरालपछि जन्मिएकी आफ्नी जुम्ल्याहा बहिनी सरह । उपचारको क्रममा एक दिन डा.राउत जसले शिशुलाई CPR सुरु गराएर जीवित बनाए, भन्दै थिए “त्यो दिन त्यो CME नभएको भए सायदै त्यो शिशुलाई बचाउन सकिन्थ्यो होला ।”

भर्ना भएको तेस्रो दिनमा दैनिक counseling को क्रममा आफ्नो छोरीको नाजुक अवस्थाबारे थाहा पाएर वुवा बेस्सरी भक्कानिएर रुँदै वार्डबाट बाहिरिएका थिए । सायद आफू रोएको उनी आफ्नी श्रीमतीलाई देखाउन चाहदैन थिए । तर उनले आफुलाई रोक्न सकेनन् । आज त उनी निकै खुसी छन् । उनले भगवानसँग एउटा छोरी मागेका थिए, तर आज घर जाने बेलामा उनको काखमा एउटा अनि उनकी श्रीमतीको काखमा अर्की स्वस्थ छोरीहरु छन् । १३ दिनको बसाईको क्रममा हजुरआमालाई हाम्रो अस्पताल साह्रै मन परेछ, उनी ठट्यौली गर्दै थिईन् “मलाई अब यँही रमाइलो लाग्छ डाक्टर साब, मलाई पनि यँही जागिर दिनुहोस है ।” अनि पर्सि मंगलबार नातिनिहरुलाई खोप लगाउन आउँदा उनकी नातिनिहरुको नाम राखिदिनु अरे, बडो आत्मियताका साथ मलाई उनले आदेश दिंदै उनी सपरिवार बिदा भइन् ।

डा. अमृत पोखरेल
बाल रोग विशेषज्ञ
स्याङ्गजा अस्पताल

Share this: