Written Stories

रिताले नयाँ जीवन पाईनँ

05 Apr, 2019 By: Sunita Sharma

हामी नर्सिङ्ग पेशामा कार्यरत स्वास्थ्यकर्मीहरुले जागिरे जीवनमा बिभिन्न आरोह–अवरोहहरु पार गर्नुपर्दछ । सयौं सेवाग्राहीका सामान्य स्वास्थ्य उपचार, परामर्श गर्ने देखि लिएर जटिल समस्याहरु पनि तत्काल सामाधान गरी जीवन बचाउनु पर्ने हाम्रो दायित्व हुन आउँछ । सेवामा तल्लीन हामी स्वास्थ्यकर्मीहरु दिनरात खटेर जनताको लागि गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने जिम्मेवारीबाट कदापि पछि हट्न सकिदैन र हाम्रो नैतिकताले पनि दिदैन ।

मेरो जागिरे जिवनमा घटेका घटनाहरु मध्ये उल्लेख गर्न योग्य घटना यहाँ प्रस्तुत गर्दछु । मिति २०६९/११/०३ गतेको दिन मेरो Night Duty थियो । त्यही ड्युटीको क्रममा रुपन्देही जिल्लाको छिमेकी जिल्ला कपिलबस्तुबाट एउटा प्रसव पिडाको सेवाग्राही करिब राती १२ः३० बजे आएको थियो । उनको नाम रिता थारु थियो । त्यो केश अति गरिब र अशिक्षित परिवारको थियो । मैले सम्पुर्ण ईतिहास सोधेर सो महिलाको उपचार सेवा तर्फ लागें । रिताले गर्भवती समयमा कुनै पनि स्वास्थ्य संस्थामा जाँच गराएकी थिईनन् । उनलाई करिब बिहान ८ः०० बजे तिरबाट प्रसूति ब्यथाले घरमा छटपटाईरहेको कुरा थाहा हुन आयो । उनी र उनको १७ महिनाकी छोरी बाहेक घरमा अरु कोही पनि थिएनन् । उनी घरमा एक्लै र कमजोर आर्थिक अवस्थाको कारणले स्वास्थ्य संस्थामा जान यातायातको लागि तिर्नुपर्ने पैसा समेत रहेनछ । समय बित्दै जाँदा गाउँकी ऐउटी महिलाले देखिछन र त्यही गाउँबाट नजिकै रहेकी सुडेनी बोलाएकी रहिछन । ती सुडेनीले जाँच गरेर अस्पताल लानु पर्देन घरमा नै सजिलै सुत्केरी गराउँछु भनेर रितालाई सान्त्वना दिईछन ।

यसरी यो क्रम चलिरहेको थियो । रिता आफ्नो प्रसव पीडामा छट्पटराई रहेकी थिईन । धेरै समय बितिसक्दा पनि बच्चा नजन्मिएपछि गाउँलेहरुको सहयोगमा रितालाई म कार्यरत संस्था रुद्रपुर स्वास्थ्यचौकी (जहा २४ घण्टे प्रसूति सेवा छ) मा लिएर आउनु भयो । रितालाई म आफैले जाँच गर्दा अवस्था गम्भीर भैसकेको पाएँ । उनमा जुम्ल्याहा बच्चा रहेको पाईयो । पहिलो बच्चा breech presentation को अवस्थामा र case fully अवस्थामा थियो । बच्चाको शरीरको आधा भाग बाहिर र आधा भाग भित्र थियो । SBA तालिममा सिकेको breech delivery management technique ले पहिलो बच्चालाई सुरक्षितसँग सुत्केरी गराएँ । Prolong labor pain को कारणले बच्चा तुरुन्त Asphyxia मा गयो । मैले तुरुन्त दबन bag & mask गरेर बच्चालाई cry अवस्थामा ल्याउन सफल भएँ । बच्चा bag & mask गरेपछि normal condition मा आयो । पुनः रिताले अर्को baby out गर्न pushing गर्न थालिन र second baby vertex presentation भएको कारणले normal baby out भयो । Baby दुवै male थियो भने पहिलोको तौल २ केजी र दोश्रोको तौल २.१ केजी थियो । त्यसपछि रितालाई तुरुन्त १० युनिट oxytocin IM दिएर placenta delivery गराएँ । केही समयपछि रिता post partum hemorrhage को अवस्थामा गईन् । मैले तत्काल दुवैहातमा IV open गरेर एउटा plain drip र अर्को हातमा ५०० मिली लिटर R/L मा १० युनिट Oxytocin लाई ६० थोपा प्रति मिनेटको दरमा दिएँ । यति गर्दा समेत bleeding control भएन । पुनः ५०० मिलिलिटर R/L मा १० युनिट Oxytocin दिदै पाठेघर मसाज गरेपछि Uterus contracted बिस्तारै हुदै आयो र रक्तश्राव पनि बिस्तारै कम भएर गयो । रिता बिस्तारै सामान्य अवस्थामा आईन । दुवै बच्चाहरुलाई स्तनपान गराउन मैले मद्दत गरें । दुवै नवजात शिशुहरुको अवस्था राम्रो भयो । मैले आमा र बच्चाको जटिल स्वास्थ्य अवस्थालाई Normal Condition मा ल्याउन सफल भएँ ।

यसरी म सो दिन ड्युटीमा रहनु र त्यस्तो बिषम अवस्थामा रहेकी गरिब परिवारकी, मृत्युको मुखमा पुगेकी रिता र नवजात शिशुहरुलाई नयाँ जीवन दिएर खुशीयाली ल्याउन सफल भएँ । गाउँका मानिसहरुले मलाई धन्यबाद र आभार प्रकट गर्नुभयो । वहाँहरुको अनुहारमा खुशी छाएको पाएँ । यो कुरा मैले मेरो संस्थाका प्रमुख र अन्य स्टाफहरुमा र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिमा समेत राखें । SBA तालिममा सिकेको कुरा व्यवहारमा प्रयोग गर्न पाउँदा खुशी पनि लाग्यो । यस्तो सह्राहनीय कामबाट प्रभावित भएर समितिले मलाई पुरस्कृत र सम्मान गर्ने योजना समेत बनाउनु भयो । यसरी जीवनका बिभिन्न समयमा गरिएका सेवाका कामहरु मध्ये त्यस दिनको सम्झना अहिले सम्म अविष्मरणीय रहिरहेको छ । आफूबाट यसरी अप्ठ्यारो परिस्थीतिमा समेत काम सम्पन्न गरी नयाँ जीवन दिन सकेकोमा हर्षले मन गदगद समेत हुनेगर्दछ । र हामी जस्ता दुरदराजमा काम गर्ने स्वास्थयकर्मीहरुले धेरै जनाको जीवन बचाउन सकेका छौं, हाम्रो पूण्य काम यही हो भन्ने आभाष मानसपटलमा रहिरहेको छ ।

सुनिता शर्मा
अनमी
रुद्रपुर स्वास्थ्य चौकी, रुपन्देही

Share this: