Written Stories

जय होऊ मुखी वचायौ ए हजुर

05 Apr, 2019 By: Samjhana Singh

बझाङ्ग जिल्लाका दुर्गम भेगमा पर्ने तलकोट गा.पा. वडा नं. ४ मा बस्ने बर्ष २३ की सरिता दिदीकी घरमा दुई बच्चाहरु ५ बर्षकी छोरी र ३ बर्षका छोरा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले गर्दा नचाहँदा नचाहँदै उनको श्रीमान् भारतमा गएर चौकीदारी गर्दैछन् । भनिन्छ एउटा कलिला फुलका कोपिला जस्तै मानवरुपी वालकलाई जन्म दिन पाउनु एउटा नारीका शौभाग्य हो, तर त्यही शौभाग्य मृत्युको रुपमा आएका थियो सरिता दिदीको जिवनमा ।

सायद शिक्षाको कमीले गर्दा परिवार नियोजन सम्बन्धीका ज्ञानको कमीले गर्दा उनको बच्चा बस्न गएको रहेछ । गाउँ घरका काम, परिवारिक जिम्मेवारी सबैमा व्यस्त उनलाई बच्चा बसेका ४ महिनासम्म थाहा भएनछ । ४ महिनासम्म महिनावारी नभएपछि उनले नजिकका मेलबिसौना स्वास्थ्य चौकीमा गएर पिसाव जाँच गराउनु भएछ । पिसावको नतिजा Positive निस्किएपछि दिदीले ४ महिनाको बच्चा फाल्नलाई स्वास्थ्यकर्मी साथीको सहयाग र सल्लाह लिनु भएछ । तर नेपालका स्वास्थ्य ऐन अनुसार १२ हप्ता सम्मका गर्भलाई मात्र सुरक्षित गर्भपतन मान्दछ । त्यस कारण स्वास्थ्यकर्मी साथीले गर्भपतन गर्न नमिल्ने सल्लाह दिनु भएछ । यो कुराले निरास भएकी उनी मनमा झिनो आशा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा पुग्नु भएछ र त्यहा भिडियो एक्सरे गरेर हेर्दा बच्चा १६ हप्ताका भै सकेका र गर्भपतन गर्न नमिल्ने भन्ने कुरा डक्टरले भन्नु भएछ । यति बेला भिडियो एक्सरेमा बच्चाको बृद्धि विकास समय अनुसार ठीक छ भन्ने जानकारी पनि दिदीले पाउनु भएछ ।

आफ्नो घरका आर्थिक समस्या र श्रीमानका जिद्धीका कारणले उनले जसरी पनि गर्भपतन गर्ने निधो गर्नु भएछ र बजारमा रहेका सामान्य औषधी पसलबाट गर्भपतन गर्नका लागि ५ चक्की Misoprostol औषधी खानु भएछ । उक्त औषधी सेवन गरेको २–४ दिनमा सामान्य रक्तश्राव भएछ र उनले त्यसलाई सत प्रतिशत गर्भपतनका लक्षण हो र मेरो गर्भपतन भयो भनेर सोच्नु भएछ । समय बित्दै जाँदा उनलाई शंका लागेर गर्भवती जाँचका लागि पुनः स्वास्थ्य चौकी मेलविसौना पुग्न भएछ र गर्भ जाँच गर्दा बच्चा ५ महिनाको भएका र सामान्य रहेका स्वास्थ्यकर्मीले बताउनु भएछ । दिदीले पाउनु पर्ने सेवा र सुबिधा अनुसार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी फेरी अर्को भेटका लागि कहिले आउने र घरमा गर्नुपर्ने स्वास्थ्य सम्बन्धी शिक्षामूलक कुराहरु दिएर पठाउनुभएछ ।

छैठौं महिनामा भेट्न जाँदा स्वास्थ्कर्मीले जिल्ला अस्पतालमा गएर भिडियो एक्सरे गरेर आउनु होला भनेर भन्दा पनि उनी घरको काममा व्यस्तताका कारण गर्भ अवधी भर भिडियो एक्सरे नगरी बस्नु भएछ । हरेक कुरा समय अवधि पूरा भएपछि आफ्ना बाटो खोज्छ भने जस्तै गर्भका अवधि बढ्दै गएपछि मिति २०७५/०९/२८ गते राती १२ बजे तिर एक्कासि पेट दुख्न थालेछ । अलि अलि दुखाई होला भन्दै उहाँले खप्दै बस्नु भएछ । तर उनलाई थाहा थिएन कि त्यो प्रसव व्यथा थियो भनेर । समयको गतिसंगै दुखाई झन्झन् बढ्दै गएपछि आफन्तलाई गुहार्नु भएछ । सबैले अव सुत्केरी व्यथा शुरु भयो भन्ने अनुमान गरेर घरमै सुत्केरी गराउने सल्लाह भएछ । करीव ४ बजेतिर एक्कासी योनीमार्गबाट धेरै बेगले पानी आएछ (पानीका फोका फुटेछ) र केही समयपछि बच्चाको Buttock देखिएछ । बच्चा उल्टो बसेकोछ भन्ने थाहा भएपछि स्वास्थ्य संस्थामा लैजान पहल गरेछन् । समुदायका मान्छेहरुले सुत्केरी महिलालाई लिनका निम्ति स्ट्रेचर उपलब्ध गराउँदा धेरै समय बितेछ । र स्ट्रेचर उपलब्ध भएपछि उनलाई गाउँलेहरुले बोकेर नजिकैका मेलबिसौना स्वास्थ्य चौकीमा पु-याएछन् । स्वास्थ्य चौकी पुग्दा विहानको ६ बजेको रहेछ । स्वास्थ्य चौकीमा पुग्दा सम्म बच्चाका Buttock, खुट्टा र पेट बाटैमा निस्किसकेको रहेछ । बच्चाको मुटुका धडकन शुन्य रहेछ । यस्तो दयनीय र गम्भीर अवस्थामा उनलाई स्वास्थ्य चौकीमा पु-याएछन् ।

मिति २०७५/०९/२९ गतेका दिन मेरो Morning Duty थियो । सँधै झै त्यस दिन पनि म आफ्नो दैनिक कार्य गर्दै कार्यस्थलमा थिएँ र दैनिकी कार्यतालिका अनुसार मेरा सहकर्मी सरला दिदीसँग Morning Round को तयारीमा थिएँ । म बिरामीका चार्टहरु र Report हरु मिलाउदै थिएँ । त्यही बेला फोनको घण्टी बज्यो । मैले फोन उठाउने वित्तिकै उताबाट आत्तिदै हतारिएको स्वरमा सबै कुरा भन्नु भयो । त्यसपछि मैल तुरुन्तै डा. सन्दीप आखेडा, डा. मदन श्रेष्ठ र डा. शेर बहादुर शाउदलाई खवर गरें । उहाँहरुले अव अवस्था अनसारको व्यवस्था गर्न भन्नुभयो । न यति छिटो हामी त्यहाँ पुग्न सक्थ्यौं नत विरामीलाई अस्पतालमा ल्याउन सकिन्थ्यो । त्यसैले यँहीबाट Process गर्नु भन्नु भयो अनि Video Call Connect गरी त्यहाँका साथीहरुले हाम्रो निर्देशन अनुसार काम गर्नु भो । तर साथीहरुले बच्चाको हात मात्र निकाल्न सफल हुनु भो । लगभग १ घण्टा सम्म Video Call बाट पनि विरामीको अवस्थामा सुधार नआएपछि Drip चढाएर Refer गर्न भनियो । मैले सोंचे कति पिछडिएको रैछ मेरो ठाँउ, कति विकट रहेछ मेरो जिल्ला, कति पिडित रहेछन् यहाँका जनता ।

हाम्रो पुरै Indoor Team र डाक्टरहरु सबै त्यही केशको पर्खाईमा थियौं । करिब ३ घण्टा पछि ११ बजे तिर उक्त महिलालाई स्ट्रेचरमा राखेर ल्याई पु-याईयो । मैले त्यो दिन जे देखें मेरो ५ बर्षको कार्य अवधिभर कहिले देखिनँ । आँखा भरि बाच्ने आशा, हेर्दा थकित, डराएकी निर्दोस अनुहार भएकी थिईन । उनको हातका Cannula बाट सलाईन पनि गईरहेका थियो । योनी र्मागतिर हेर्दा कालो कपडाले केही बेरिएको डल्लो जस्तो थियो । सबजना मिलेर आमालाई Labour Room को Bed मा राख्यौं । आ-आफ्नो ज्ञान र सीपले भ्याएसम्म सबैजना काममा खट्यौं । मैले त्यो कालो थाङना खोलेर हेर्दा अचम्म र डर लाग्यो । मैले त्यो कपडामा रगतले बेरिएको एउटा मृतक बच्चा जसको टाउको आमाको योनी भित्र र शरीर बाहिर थियो । हामीले पनि Support गरेर तान्ने काशिस ग-यौं तर निस्किएन । त्यसपछि डा. सन्दीप र डा. मदनको Team Work मा भिडियो एक्सरे गरेर हेर्दा बच्चाको टाउकोमा पानी भरियर ठूलो भएको रहेछ जसलाई Hydrocephalus भनिन्छ । त्यसपछि हामीले आमाको पेटबाट Spinal needle craniocentesis (skull puntcure) गरेर १०० ml fluid निकाल्यौं र बिस्तारै Support गर्दै निकाल्दा बच्चाको टाउको अझै आएन । फेरी थप fluid अर्को side बाट निकालियो । यसरी जम्मा ३५० ml fluid निकालेपछि थोरै बल गरी  Position मिलाएर तान्ने बित्तिकै बच्चा निस्कियो । बच्चाको तौल ३३०० ग्राम र male baby थियो ।

जव बच्चा निस्कियो तव लेवर रुम भित्र रहेका सबैका ओठमा र अनुहारमा मुस्कान छरियो । मलाई चाही मैले कति ठूलो काम गरें जस्तो अनुभव भयो । ति सरिता दिदीको आँखामा बाँच्ने चाहना र आशाको लहर झल्किरहेको थियो । ति दिदीले हात जोडेर हामी तिर हेर्दै भन्नु भयो “जय होउ मुखी बचायो हे हजुर” (हजुरको जय होस मलाई बचाउनु भएकोमा) । यो शब्दले मलाई म नर्स भएकोमा गर्व महशुस भयो । मैले साच्चै सही सेवा र धर्मको पेशा रोजेको रहेछु भन्ने आभाष भयो ।

यस पछि हामीले बिरामीलाई Injection oxytocin 10 unit IM दियौं र धरै रक्तश्राव नहोस भनेर Injection Tranexamic acid 1 gm IV दिईयो र साल निकालिसकेपछि विरामीलाई ward मा shift गरियो । क्रमशः अवस्थामा सुधार हुँदै गयो । दुई दिनसम्म Injection ciprofloxacin र inj. metronidazole चलाईयो । बिरामीसंग धेरै कुराहरु गर्ने मौका पाएँ र परिवार नियोजन गर्ने सल्लाह पनि दिएँ । सरिता दिदीलाई २ दिन सम्म Observation का लागि अस्पतालमा नै राखियो । त्यसपछि discharge गरियो । जव उँहा ठिक भएर सकुशल घर फर्किदै हुनुहुन्थ्यो, मलाई एउटा छुट्टै आभाष, उमङ्ग थियो । सबैलाई धन्यबाद भन्दै सरिता दिदी आफ्नो घर जानु भयो ।

हामी पुरै अस्पतालका टिम सरिता दिदी अनि उहाँका घर परिवारको धैर्यता र समझदारीले गर्दा एउटा आमाको ज्यान बचाउन सफल भयौं । बच्चालाई बचाउन नसके पनि यो हाम्रो ठूलो उपलब्धी हो । अझ स्वास्थ्य शिक्षाका कमीले दुर दराजमा सयौं सरिताहरुले दुःख कष्ट भोगिरहेका छन् । हाम्रो सानो सहयोग र शिक्षाले गर्दा ज्यान बचाउन सक्छौं । म यस उपलब्धिका लागि स्वास्थ्य चौकी मेलबिसौनाका स्वास्थ्कर्मी साथीहरु, जिल्ला स्वास्थ्य कार्यालय बझाङ्गमा कार्यरत सहकर्मी साथीहरु, निक साईमन्स इन्स्टिचूटद्वारा खटाईएका डाक्टरहरु र अन्यस्वास्थ्कर्मी साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । सरिता दिदीको सुत्केरी व्यथाको कथाले मैले जिवनमा एउटा नयाँ पाठ सिक्ने मौका पाएँ र यी सिकाईका कुराहरुलाई म सधैं आत्मसाथ गर्नेछु ।

सम्झना सिंह
अनमी
बझाङ्ग जिल्ला अस्पताल

Share this: