Written Stories

MLP तालिममा सिकेको सीपले बच्चाको जीवन बचाउन सफल

05 Apr, 2019 By: Durga Prasad Acharya

म जिल्ला अस्पताल कालिकोटमा कार्यरत रहेको बेला मिति २०७२/०६/२६ गते मेरो रात्री ड्युटी इमरजेन्सीमा भएकोले त्यहाँ भएका ३ जना बिरामीको उचित व्यवस्थापन गरेर म आराम गरिरहेको थिएँ । समय राती १२ः३० बजेको थियो । झ्यालको बाहिर बाटो भएको कारण कोही हिंडेर इमरजेन्सी आइरहेको महसुस भएर म इमरजेन्सीमा गएर बसें । केहीबेरपछि एउटा अलि बृद्ध मानिस बिरामी बच्चा बोकेर आइपुगे । उनीसँग अर्को मानिस पनि थिए । मैले बिरामीलाई बेडमा राख्न लगाएँ, उनले छैन छैन भनिरहेका थिए । मैले वास्ता गरिन । उनले बच्चा जिउँदो छैन भनिरहेका रहेछन् । मैले बच्चा जिउँदै छ, किन त्यस्तो भनेको भनी सोधें । कोही बोलेनन् । अनि विरामीको बारेमा जानकारी लिन सुरु गरें । नानीकोट गा.वि.स.को तोलीभिड भन्ने गाउँको रविन्द्र सन्ज्याल नामको त्यो बालक २५ महिनाको रहेछ । अघिल्लो रातिबाट एक्कासी सुरु भएको पखला तारन्तार भएको रहेछ । वान्ता भने नभएको रहेछ । दिशामा रगत मासि पनि छैन । पिसाब पनि भएको छैन । बिहानै गाँउको मेडिकलमा उपचारका लागि पु¥याएका रहेछन् । तर मेडिकलले बच्चाको नसा पत्ता लगाउन सकेनछ र खाने औषधी दिएछ । तर बच्चाले लिन सकेन र जिल्ला अस्पतालमा रिफर गरिदिए । बिहानदेखि हिड्दा हिड्दा अहिले पुगियो, उसका बुवा रमेश सन्ज्यालले भने । आँखाभरि आँसु पार्दै उनले फेरि सोधे, डा. साब बाँच्लाकी ? सारै दुख लागेर आयो, मैले भने बाँच्छ । त्यस्तो गाह्रो छैन । अब उपचार हुन्छ । सान्त्वना दिदै मैले उनलाई भने, चिन्ता नगर्नुहोस् ।

म बच्चाको परीक्षण गर्न लागें, बच्चा अर्धबेहोस अवस्थामा थियो । बेस्सरी चिमोट्दा पनि अलि अलि मात्र शरिर हल्लाउँथ्यो । आँखा धेरै भित्र गडिसकेको थियो । आँखा सेमी ओपन र सेतो भाग मात्र देखिन्थ्यो । मुख पनि निकै सुख्खा थियो । शरिरमा हाड र छालामात्र बाँकी भएको एब्डोमिनको छाला तानेर छोड्दा ३० सेकेण्डसम्म पनि फर्केन । मैले तुरुन्त vital sign लिएँ । बच्चाको अवस्था निकै कमजोर थियो । शरीरको तापक्रम 97F थियो भने श्वासप्रशावास दर 33/min । ११ केजि तौल भएको बच्चाको रक्तचाप लिने मेशीन नभएकोले Blood Pressure लिन सकिएन । Bladder मा पिसाव थिएन । मैले बालक General Danger Sign सहित severe dehydration भएको भनी वर्गीकरण गरें र विरामीका आफन्तलाई बिरामीको अवस्था र अस्पतालमा डाक्टर साबहरु नभएको बारेमा राम्ररी परामर्श गरें । उसको बुवाले — टाढाको मान्छे, गाँउ उत्तै रह्यो, पैसा पनि छैन, यहाँ मलाई सहयोग पुर्याउने मानिस पनि कोही छैनन्, सकेजति गर्नुहोस्, भएन भने कस्को के लाग्यो र ? यो राती म के गरुँ ? उनले रुँदै भने । अस्पतालका सुरक्षाकर्मी हवल्दार चिन्कुराम चौधरीलाई खबर गरें । हवल्दारसाव र आइपिडीका सिस्टरहरु पनि आउनु भयो । बिरामी बच्चाको अवस्था, आई पर्न सक्ने समस्या र गर्नुपर्ने उपचार, व्यवस्थापन उसका बुवाको आर्थिक अवस्था सबैका बारेमा भने । सबैको सल्लाह अनुसार ज्ञान अनुभवले भ्याएसम्म उपचार गर्ने निर्णयमा पुग्यौं ।

मैले IV Line Open गर्नका लागि आवश्यक सामग्री तयार पारें र उसका आफन्तलाई Procedure का बारेमा जानकारी दिएँ र अनुमति लिएँ । म तयार भएँ । हात, खुट्टा, टाउको कतै पनि उसको नसा नै भेटिएन । दुवै हातमा नसाको छाँया जस्तो लाग्यो, प्रयास गरें सफल भईनँ । सिस्टरले प्रयास गर्नुभयो, अर्को हातमा सफल भएन, मलाई निरासताले छायो । दुःख लागेर आयो । त्यसपछि हामीले NG tube Insertion गर्ने सल्लाह र निर्णय ग-यौँ । मैले आवश्यक सामग्री तयार पारें र Gloves लगाएर म तयार भए । बालक सुस्त बेहोस नै थियो । NG Tube Nasal Cavity को Posterior Wall मा ठोकिन थाल्यो तलतिर सार्दा गएन । चारपटक सम्मको प्रयास गर्दा पनि हामी सफल हुन सकेनौं । म आत्तिए, अब के गर्ने ? सबैजनामा निरासा छायो फेरि । बालकका अवस्थाले छिटो गर, मलाई बचाउ, भनिरहेको थियो । बिरामीको बुवा रुन थाले । सबैजना केही नबोलेर बसिरह्यौँ । सधैैं सबैजनाले भरोसा गर्ने म थिएँ, म नै सफल हुन नसके पछि केहि उपाय नै थिएन । मैले एउटा उपाय निकालें, MLP training मा पढेको Intra Osseous Access मैले Bharatpur Hospital को ICU मा पनि देखेको थिएँ । MLP training को PTC course मा पनि यसको बारेमा राम्ररी ज्ञान लिने अवसर पाएको थिएँ । Dr. Suman Tamang / Dr. Madhav Paudel सँग जिल्ला अस्पताल कालीकोटको इमरजेन्सीमा २ वटा उपचार पनि रहेको थिएँ । तर यस पटक डाक्टरहरु नभएका कारण मैले स्वयम् उपचार गर्नुपर्ने बाध्यता थियो । दैवीप्रकोप, दुर्घटना र आकस्मिक अवस्थामा अहेवले पनि उक्त Procedure गर्न मिल्ने कुरा training मा मैले पाएको थिएँ । मैले त्यो कुरा सम्झेँ, त्यपछि मैले उपस्थित सबैलाई (pokice,health worker, विरामीका आफन्त) विकल्प अगाडी सारें । र सबैसँग सल्लाह गरें । उसका आफन्तबाट अनुमति लिएँ । मन्जुरीनामा लेख्न लगाए र बालकका बुवाबाट मन्जुरी नामामा सहीछाप गर्न लगाएँ । मैले Procedure का लागि चाहिने सम्पूर्ण सामाग्री तयार गरें ।

बिरामी बालकका बुवालाई काखमा राम्ररी बिरामीलाई समाउन भने र उपयुक्त आसनमा समात्न लगाएँ । उसको दायाँ खुट्टाको कपडा खोल्न भने । बिरामी बालकको दायाँ खुट्टाको घुँडाभन्दा तल (Growth Plate) / Distal Tibia भन्दा माथि Anterior तिरको भागलाई तयार पारें । त्यो भाग Betadin ले सफा गरेर त्यसपछि sprit swab ले सफा गरे । Procedure गरिने खुट्टा सहयोगीलाई राम्ररी समात्न लगाएँ । 18G को needle लिएँ र ९० डिग्रीको कोणमा Bone Marrow सम्म पुग्ने गरी Insert गरें । Insert गर्नु निकै गाह्रो भयो । यो नै अन्तिम प्रयास भएकोले मैले हिम्मत नहारिकन निकै बल गरी अलि अलि घुमाउँदै भित्रतिर Insert गरे । मलाई bone पार भएर canula bone marrow मा पुगेको महसुस भयो । म रोकिएँ र 10 ml को syringe ले IV canula मा fix गरी aspiration गरें । Syringe मा marrow देखा पर्यो, अलि ढुक्कता मिल्यो । IV Canula ले भरिएको IV set मैले canula मा जोंडे IV fluid खोंले, fluid सञ्चालन भयो । Canula Elasto Plast ले Fix गरे । IV fluid plan ‘c’ अनुसार सञ्चालन पनि गरे । केही समयमा Inj. Ampicillin र Gentamycin per kg body weight का आधारमा calculate गरी सोही canula बाट दिएँ । ढाई घण्टामा plan ‘c’ complete भएपछि बालकको dehydration को मूल्यांकन गरी वर्गीकरण गरियो । अँझ पनि severe dehydration को वर्गीकरणमा नै पर्यो । मैले Intra osseous fluid बन्द गरें र अब हातमा IV Line open गर्न सकिन्छ कि भनी हेरें । दाहिने हातको wrist joint भन्दा माथि नसा खोल्न सम्भावना देखियो । सामग्री तयार गरें, प्रयास पनि गरें र सफल भएँ । खुट्टाको IV fluid को पाइप हातमा जोडे, fluid सञ्चालन भयो । म खुशी भएँ र केही आशा पनि पलायो । उसलाई फेरि plan ‘c’ सञ्चालन गरियो । भोलिपल्ट मेरो ड्युटी सकिए पनि, म अस्पतालमा नै बसिरहें । साँझतिर ऊ अली stable भएपछि Inpatient (ward) मा भर्ना गरियो । म कोठातिर लागें । पाँचदिनसम्म म उसलाई बिहान साँझ र दिउँसो भेट्न गइरहन्थे । उसले आँखा टुलुटुलु हेरेको र आमाको दूध चुसिरहेको देखेर मलाई खुशी लाग्यो । उसको बुवाले मसँग निकै दुःखहरु पोख्नु भयो । पाँच दिनपुरा भएपछि उसलाई डिस्चार्ज गरियो । घर जाँदा उसका बुवाले मलाई आफ्नो छोराको ज्यान बचाइ दिएकोमा धेरै धेरै धन्यवाद दिदैं घर गए ।

त्यसपछि २०७३ साल माघ महिनामा म जिल्ला अस्पताल कालीकोटबाट IMCI सम्बन्धी तालिम दिन म बदालकोट चौरमा जाँदा आमतडा भन्ने ठाँउमा म बिहानको खाना खान एउटा होटलमा पसें । अली बुढो मानिसले मलाई नमस्कार गरे, मैले पनि नमस्कार फर्काएँ । उनले भने, तपाईलाई मैले चिने, तपाईले मलाई चिन्नु भएन । हजुर त मेरो भगवान् हो, म अलमल्लमा परें । केही बोल्न सकिन । उनले भने, मेरो बच्चा मरेको हो तर यसलाई बचाइदिने तपाई हो । त्यसैले तपाई त मेरो भगवान् नै हो । त्यो दिन तपाई नभएको भए आज यो मसँग हुने थिएन । बुढेशकालको एउटै छोरा हो यो, मरेको भए मरिजाने थिएँ आज भेट पनि हुने थिएन । आँखाभरि आँशु पार्दै उनले भने । अरु त केही भएन र दुई माना घीऊ हजुरलाई ल्याइदिएको छु । उनले भने । मैले त्यो बालकलाई हेरें । म एकदमै खुशी भए । उनीहरुको माया लागेर आयो । बच्चालाई सदरमुकामको बोर्डिङ्गमा भर्ना गर्न जान लागेको रहेछन् । हजुरलाई जसरी पनि भेटेर यो घीउ दिएर आउनु भनेकी छ यसकी आमाले । मैले म बदालकोटको सिकु स्वास्थ्य चौकीमा जाँदैछु । यो घीउ हजुरको बच्चालाई खुवाउनु भनेर सम्झाइ बुझाइ म उनीहरुबाट छुट्टिएँ । म पर पुगेन्जेल सम्म उनीहरुले मलाई हेरिरहे, मलाई उसको उपचार गरेको त्यो दिन उसको अवस्था र भेट भएको सम्झिरहें र गन्तव्यतिर हिंडिरहें । आजसम्म पनि मलाई उपचार गरेको दिन र भेट भएका ती दुई दिनको सम्झना आइरहन्छ ।

दुर्गाप्रसाद आचार्य
अहेव
स्वास्थ्य चौकी चिलखाया, कालिकोट

Share this: