Written Stories

पहिलोपटक प्रमुखको रुपमा हजारिया स्वास्स्थ्य चौकीमा हाजिर हुँदा

05 Apr, 2019 By: Tirshana Panthi (Ghimire)

मिति २०७३ साल कार्तिक ५ गतेका दिन लोकसेवा आयोग मध्यामाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय मलंङवा सर्लाहीले हे.अ. पदको लागि शिफारिस गरे अनुरुप जिल्ला जनस्वास्थ्य कार्यलयले ७ गतेका दिन हजारिया स्वास्थ्य चौकीको नियुक्ती पत्र मलाई थमाईयो र ११ गतेका दिन पहिलो चोटी स्वास्थ्य चौकी प्रमुखको रुपमा हजारिया स्वास्थ्य चौकीमा हाजिर गरे । पहिले अध्ययन गर्दा विभिन्न स्वास्थ्य चौकीमा फिल्ड गएका थियौं । त्यसै अनुरुप आफनो कार्यालय पनि होला भन्ने मनमा लागेको थियो । तर ठीक त्यसको विपरित जम्मा जस्ताले छाएको २ कोठे भवनमा २ वटा पुरानो टेबल, ३ वटा कुुर्सी, एक वटा टुल, २ वटा पुराना ढोका भएको दराज, रेकर्ड, रिर्पोटिङको लागि मूल दर्ता मात्रै, शौचालय पनि नभएको, औषधिको नाममा B-complex, cetamol मात्र, हेर्दा लाग्थ्यो स्वास्थ्य चौकी होईन अस्वास्थ्य चौकी । कर्मचारी पनि म लगायत अन्य २ जना अनमीहरु थिए । कार्यालय सहयोगी पनि थिएन ।

लगभग उन्नाईस हजार जनसंख्या भएको यस ठाउँमा दैनिक १५ देखि २० जना सेवाग्राही आउने गर्दथे । यो सवै परिवर्तन गर्नुपर्छ भन्ने मनै देखि लागेर आयो । यस कार्यालयको प्रमुखको नाताले केही न केही परिर्वतन गर्छु भन्ने अठोट लिए । पहिलो चूनौति हाम्रो गाँउमा स्वास्थ्य चौकी छ र यसमा निम्न सेवा सुविधा छ भन्ने कुरा गाँउ गाँउमा पु¥याउनु नै थियो । किनकी स्वास्थ्य चौकीको बाहिर गाई भैसी बाँधिएर राखिएको हुन्थ्यो । पहिले त बाँधिएर राखिएको गाई भैसी अन्यन्त्र सार्नको लागि अनुरोध गरियो र धेरै पटकको अनुरोध पछि गाई भैसी बाध्न छाडियो । स्वास्थ्य व्यवस्थापन समितिको गठन तथा बैठक पनि भएको थिएन । त्यस्तै म.स्वा.स्व.से. को नियमित मासिक बैठक पनि नहुने रहेछ । सर्वप्रथम त यसै बैठकलाई निरन्तरता दिएर कार्यालयलाई व्यवस्थित गर्नका लागि हामी कर्मचारी भित्र जागरुक हुन जरुरी थियो । त्यसैले हामीले आपसी सल्लाह गरी कार्यालय १० बजे देखि ३ बजे सम्म खोल्ने निर्णय ग-यौं । त्यसपछि जिल्लाबाट आवश्यक रेर्कड रिर्पोटिङका रजिस्टर ल्याएर मूल दर्ता, OPD, Family planning, CB IMNCI लगायत सम्पूर्ण आवश्यक रेर्कड गर्नुपर्ने रजिस्टर भर्ने गरियो । त्यस्तै जिन्सी रजिस्टर पनि थिएन, त्यसलाई पनि अद्यावधिक गरियो । नियमित रुपमा १.३ मासिक प्रतिवेदन पनि बनाउने गरियो । त्यस्तै गाँउघर क्लिनिक पनि नियमित संञ्चालन गर्न कर्मचारी र आवश्यक औजार उपकरणको कमी थियो । जिल्लामा कर्मचारी र औजार उपकरणको लागि अनुरोध गरियो र दुई जना अहेव र आवश्यक औजार उपकरण पनि उपलब्ध गराईयो र गाँउघर क्लिनिक महिनाको १७, १८ र १९ गते तीन स्थानमा सञ्चालन गरियो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको मासिक बैठकमा नआउने प्रमुख समस्या थियो । त्ससलाई पनि व्यवस्थित गर्न प्रत्येक महिनाको २५ गते म.स्वा.से. मासिक बैठक राखियो । म.स्वा.स्व.से. कोषमा भएको ६० हजारलाई पनि उनीहरुलाई लगानीको लागि कोषमा भएको रकम संञ्चालन गरियो उनीहरुलाई मासिक प्रतिवेदन तयार गर्न सजिलोको लागि वडा कार्यालय र नगरपालिकासँग समन्वय गरि साईकल वितरण गरियो । मासिक ५०० का दरले नगरपालिकाले भत्ता दिने निर्णय ग-यो । अहिले नियमित २५ गते बैठक बस्ने गर्दछ र उत्साहजनक रुपमा सहभागी हुने गर्दछन् । त्यस्तै स्वास्थ्य व्यवस्थापन समितिको गठन पनि गरियो । उक्त गठनको पहिलो बैठकबाटै कार्यालय सहयोगी नियुक्ती गरियो । शुरुमा व्यवस्थापन समितिको तलब खुवाउने गरी नियुक्ती गरिए पनि अहिले अस्थाई रुपमा नगरपालिकाले तलब खुवाएको छ । त्यस्तै कार्यालय व्यवस्थापनको लागि नगरपालिकाले बिजुली बत्ति जडान, पंखा, कम्प्युटर, दराज, कुर्सी उपलब्ध गराई दियो र वडा कार्यालय १ बाट हामीलाई कोठा पनि पनि उपलब्ध गराई दियो ।

पहिले औषधीको नाममा B-complex, cetamol हुने ठाँउमा अहिले विभिन्न औषधीहरु उपलब्ध हुने गरेको छ । पहिले स्वास्थ्य चौकी जाने बाटोमा गाई भैसी हुने गर्दथ्र्यो भने अहिले सेवाग्राहीको पहुँचमा आउन थालेको छ । अझै व्यवस्थित रुपमा सञ्चालनको लागि स्वास्थ्य चौकी भवनको आवश्यक रहेको छ । त्यसको लागि नगरपालिकासँग भवन निर्माणको लागि पहल भएको छ । त्यसपछि बथिङ सेन्टर सञ्चालनको लागि तयारी गर्न व्यवस्थापन समितिमा निर्णय गरिएको छ । पहिले सर्लाही जिल्लामा कालो सूचीमा पर्ने हाम्रो स्वास्थ्य संस्था अहिले उदाहरणको रुपमा लिने गर्दा गर्व महशुस हुने गर्दछ । त्यसैको प्रेरणा स्वरुप यो कथा लेख्न प्रयास गरेको छु । यो दुई बर्षको अवधिमा मलाई यी सब काम गर्न यति धेरै चुनौति थिए कि साना साना काम गर्न पनि वडा देखि नगरपालिका, जिल्लासम्म तगारो नै तगारो थियो । तर पनि गर्न सक्छु भन्ने मानसिकताले काम गरेकाले र सबैको सहयोगले यो सम्भव भएको हो ।

तिर्सना पन्थी (घिमिरे)
हे.अ. पाँचौ
कटारी न.पा. ९ उदयपुर

Share this: