लिखित कथाहरु

क्षयरोगबाट पीडित बिरामी

05 Apr, 2019 By: प्रकाश सिह रावल

अति दुर्गम तथा पिछडिएको क्षेत्र सुदुरपश्चिमाञ्चल प्रदेशको बझाङ्ग, देउलेखमा अझै पनि जनस्वास्थ्यका थुपै्र समस्याहरु विद्यमान छन् । ति मध्येको एउटा ज्यानै लिने समस्याको रुपमा र व्यक्तिहरुले नबुझेर अझैसम्म पनि निकै ठूलो धनजन र समय खर्च गरिरहेको स्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोगबाट पीडित एक ७० वर्षका व्यक्तिको घटनामा यो कथा आधारित छ । उ र उनको परिवार उपचारमा आउनु भन्दा पहिला निकै खर्च र समय व्यतित गरिसकेको थियो ।

कहिले परम्परागत धामीझाँक्री त कहिले जडीबुटीको सहाराबाट उहाँलाई लामो समयसम्म उनको उपचार गर्ने गरेको थियो । कहिलेकाँही सामान्य रुपमा श्वासप्रश्वास सम्बन्धी, खोकी, ज्वरो आउने र कमजोरी भयो भनेर मेडिकलबाट औषधी किनेर केही समय खाएपछि अलि ठीक भएजस्तो हुने । तर समस्या झन–झन बढ्दै जान थाल्यो ।

यसैको उपचारका लागि उनी पुनः भारतको पिथौरागढ लगायत अन्य अस्पतालहरुमा पनि गएर थुप्रै औषधी खाने गरको थियो । तर ठीक नभएको अवस्थामा एक दिन मेरो सम्पर्कमा आए । मैले सम्पूर्ण History हरु सोध्दा उनले र उनका परिवारले माथि भए गरेका सबै कुरा बताए । तत्पश्चात सर्वप्रथम मैले उनलाई भोली बिहानको खकार ल्याएर यस संस्थामा जचाँउन आउने सल्लाह दिए । सल्लाह बमोजिम उनी खकार सहित संस्थामा आए । सो बेला उनी निकै कमजोर, थकित र दुःखी अवस्थामा थिए । हामीले क्रमशः संस्थामा दुई दिन बिहानैको खकार तथा अन्य परिक्षण गर्दा उनको खकारमा प्रशस्तै क्षयरोगको जिवाणु भेटिएको रिर्पोट ल्याबबाट प्राप्त भयो । त्यसपछि मैले ओपिडिमा वहाँ र वहाँका परिवारका सदस्यहरु बोलाएर रोग पत्ता लागिसकेको जानकारी गराएँ ।

अहिले यो रोग एकदमै सामान्य भएको र लामो अवधिसम्म औषधी खाएर शतप्रतिशत ठीक गर्न सकिने जानकारी गराएँ । साथै, खाना, सरसफाई, बसाई सर्ने बारेमा तथा औषधी उपचारको बारेमा, तौल अनुसार ६ महिना सम्म नियमित औषधी खाएपछि एकदमै ठीक हुने कुरा समेत पूर्ण जानकारी दिएँ । सोही दिनमै अर्थात ०७३/०३/०९ गते क्षयरोग उपचार रजिष्ट्ररमा दर्ता गराई ३ Tab. HRZE औषधी लगातार दुई महिनासम्म नियमित स्वास्थ्य संस्थामा आएर औषधी सेवन गर्न लगाएँ ।

२ महिना पछि follow-up मा खकार जाँच गर्दा 3+ve बाट Neg मा आएको थियो । त्यसपछि लगातार HR औषधी ४ महिनासम्म सेवन गर्न लगाएँ । उहाँको तौल पनि ४०kg बाट बढेर ४५kg भएको थियो । स्वास्थ्यमा निकै सुधार आएको थियो । परिवार र उहाँ सबै जना एकदमै हर्षित र खुसी भएको देख्दा मलाई पनि निकै ठूलो आत्मसन्तुष्टि भएको महशुस गरें । उपचार प्रणाली अनुसार पुनः सबै सल्लाह दिई निजको स्वास्थ्य उपचार पूर्ण गरे । सही सल्लाहको अभावमा भड्किरहेको बिरामीलाई हामी स्वास्थ्यकर्मीहरुले पनि उचित चासो र सल्लाह दियो भने यसरी क्षयरोग जस्तो समस्यामा परिरहेको बिरामीको उपचार प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्न सकिन्छ भन्ने महशुस गरें ।

प्रकाश सिह रावल
सिअहेब
प्रास्वाके देउलेख, बझाङ्ग

Share this: