लिखित कथाहरु

दुर्गम क्षेत्र, स्वास्थ्य सेवामा चुनौती र हाम्रो प्रयास

30 Apr, 2021 By: बबिता बिष्ट, स्टाफ नर्स, गोकुलेश्वर अस्पताल

पहाडको दुर्गम भेगमा अवस्थित दार्चुला जिल्लाको गोकुलेश्वर अस्पतालमा कार्यरत रहँदाको एक दिनको अनुभव बाढ्न चाहन्छु । सधैझैँ व्यस्त रहने यस अस्पतालको आकस्मिक कक्ष त्यस दिन पनि व्यस्त नै थियो । ज्यान जोखिमपूर्ण नरहेका सामान्य किसिमका बिरामीहरुको उपचार भइरहेको थियो । मलाइ पनि आकस्मिक कक्षबाट सानो बच्चाको नसा खोलिदिन भनि बोलाउनु भयो । त्यसै बीच ५–६ जनाको हुल एकजना अचेत अवस्थामा रहेकी महिलालाई स्ट्रेचरमा ल्याएर आइपुगे । बर्ष ३८ कि ति महिलाको बारेमा बुझ्दा उनले ४–५ दिन पहिले कुनै मेडिकलबाट गर्भपतन गराउन भनी केही औषधी सेवन गर्नु भएको रहेछ र औषधी सेवन गरेकै दिन देखि रक्तश्राव भैरहेको रहेछ । रगत बग्ने क्रम २–३ दिन चलिरहँदासम्म पनि बिरामीले कमजोरी र रिंगटा लाग्नेसम्म मात्रै महशुस गर्नुभएछ र आफन्तहरुले गाउँका १ जना झारफुक गर्ने मान्छे बोलाई झारफुक गर्नुभएछ । तर अत्याधिक रक्तश्राव निरन्तर भैरहेका कारण मुर्छा नै पर्नु भएछ । तत्पश्चात मात्रै उँहालाई अस्पताल ल्याइयो ।

आकस्मिक कक्षमा आइपुग्दा बिरामीको अवास्था एकदमै गम्भीर थियो र उँहा अचेत अवस्थामा हुनुहुन्थ्यो । बिरामीको प्रारम्भिक चरणको जाँच गर्दा उहाको रक्तचाप र नाडीको गति एकदमै कमजोर र छिटो छिटो (१३०/मिनेट) थियो । हातखुट्टा चिसा थिए, छाला सेतो फुस्रो, आँखाको तल्लो भाग सेतो थियो । उहाँ Hypovolemic Shock मा रहेको कुरा बुझी तुरुन्तै हामीले 16G को Cannula उपलब्ध नभएको कारण 18G Cannula ले दुवै हातमा नसा (vein) खोल्यौ र त्यति नै बेला हेमोग्लोबिन र रक्तसमूहको जाँचको लागि रगत निकाल्यौ । तुरुन्तै नसाबाट सुरुको १५ मिनेटमा १ लिटर र पछी ४५ मिनेटमा १ लिटर गरी १ घण्टामा जम्मा २ लिटर जति Fluid दियौ । साथै बिरामीलाई न्यानो पारी टाउको मुटुको सतह भन्दा तल पर्ने गरी head low position मा बिरामीलाई राख्यौ । सँगसँगै ६–८ लिटर/मिनेटका दरले अक्सिजन दियौ । बिरामीको व्यवस्थापनमा डाक्टर, नर्स, पारामेडिक्स, कार्यालय सहयोगी लगायतका सबै स्टाफ जुटेका थियौ । Shock को व्यवस्थापनसँगै हामीले prophylactic antibiotics र रक्तश्राव रोक्न Inj. Tranexamic acid पनि नसाबाट दियौं ।

केहि समयपछि थोरै सुधारका लक्षण देखिए तापनि रक्तश्राव भने रोकिएको थिएन । यत्तिकैमा रगत जाँचको रिपोर्ट आयो । जसअनुसार हेमोग्लोबिन 5.8 gm/dl थियो र रक्तसमुह B+ve रहेछ । उहाँको आफन्तलाई ज्यान जोखिममा रहेको कुरा पहिले नै जानकारी गराइसकेका थियांै । अन्यत्र सुविधा सम्पन्न अस्पतालमा पठाउँदा दार्चुलाबाट धनगढीसम्म पुग्न पनि कम्तिमा १० देखि १२ घण्टा लाग्ने हुँदा त्यहा पुग्नु अगावै बिरामीको बाटोमै ज्यान जान सक्ने जोखिम थियो । उतातिर Incomplete Abortion को व्यवस्थापन MVA (Manual Vacuum Aspiration) गर्न पनि आइपर्ने सम्भावित जटिलताका कारण जोखिमपूर्ण नै थियो ।

यत्तिकै पनि बिरामी अचेत अवस्थामा रहेको र हेमोग्लोबिन पनि न्यून (5.8 gm/dl) भएको हुनाले MVA गर्ने क्रममै पनि झन बढी रक्तश्राव हुन सक्ने जोखिम त्यत्तिनै थियो । रक्तदान गर्न पनि blood bank उपलब्ध नरहेका कारण यसै बिषयलाई लिएर हामीले छोटो सल्लाह गर्यौ र बिरामीका आफन्तलाई जानकारी गरायौं । सल्लाहकै क्रममा डा. गोमा धामीले सेती अस्पतालका मेट्रोन मन्जु के.सी. म्यामलाई फोन गरेर सल्लाह लिनुभयो । यस्तो अवस्थामा बिरामीलाई प्रेसण गर्दा बाटोमै ज्यान जान सक्ने भएकोले जोखिम उठाएर भए पनि आफ्नै ठाउँमा MVA गर्दा उचित हुने सल्लाह दिनुभयो । सोही बमोजिम बिरामीको आफन्तलाई उपचार र जोखिमबारे counselling गर्यौ । “हमुनखाँइ ऐल धनगढीसम्म लैझानाकी रुप्प्या लै नाइँ थिन, ऐल इति झट्ट ऋण लै को दिन्या हो ,रुप्प्या खर्च गरिवटि लै बच्च्या हो कि नाइँस बर जस्या लै हुन्छ याई गर्दिय, हम गरिब मान्स्यु” भनेर उँहाको आफन्तहरु यहि उपचार गरिदिन अनुरोध गर्न थाले । त्यपछि हामीले बिरामीको आफन्तलाई पूर्ण जानकारी दिएर उच्च जोखिम consent सहिछाप गराई उपचार प्रक्रिया अगाडी बढायौ ।

उँहाको हेमोग्लोबिन 5.8gm/dl मात्रै भएकोले उहालाई रगत चढाउनु पर्ने थियो । तर हामीसँग यो क्षेत्रमा blood bank को सुबिधा भने थिएन । हामीसँग एक जना प्रयोगशालाको दाइ हरि सिंह बिष्टले walking blood bank सम्बन्धी तालिम लिनु भएको रहेछ । तर transfusion reaction भएमा व्यवस्थापन गर्न थप श्रोत साधन जस्तै ICU backup र intubate गर्न सक्ने दक्ष जनशक्ति अभाव थियो । त्यसैले अहिलेसम्म यस अस्पतालमा blood transfusion सेवा सुचारु भएको थिएन । अन्य कुनै विकल्प नभएपछि बिरामीको आफन्तको लिखित सहमतिपछि हामीले रगत दिने मान्छे खोज्न भन्यौ । कसैको पनि रक्तसमूह नमिलेपछि डा. रोशन आफैले रगत दिने निर्णय गर्नु भयो र संयोगवश cross match गर्दा रगत पनि match भयो । त्यसपछि यस अस्पतालमा त्यो दिन पहिलो पटक blood transfusion गरियो ।

बिरामीको आकस्मिक कक्षमै उपचारसँगसँगै blood transfusion भइरहेको र उँहा आफै पनि कमजोर अवस्थामा रहेको हुनाले मैले आकस्मिक कक्षमै उहाँको MVA गरे र भाग्यवस MVA गर्दा हुन सक्ने कुनै जटिलताहरु आएनन । MVA पश्चात रक्तश्राव केही मात्रामा रोकिए तापनि पूर्ण रुपमा अझै रोकिएको थिएन । त्यसपछि डा. महादेवले Tab Misoprostol 800 mcg per rectum राख्न भन्नु भयो र मैले तुरुन्तै सोही बमोजिम गरें । केही बेरपछि रक्तश्राव रोकियो र बिरामीको अवस्थामा पनि निकै सुधार भैरहेको थियो ।

केहि दिन अस्पतालमै भर्ना गरी उपचारपछि उँहालाई पाँचौ दिनमा निको भइ घर पठाईयो । घर जाँदा बिरामी र उहाको आफन्तहरुले मृत्युको मुखबाट खोसेर ल्याइदिनु भएको भनेर खुसी हुँदै धन्यवादसँगै आशीर्वाद दिएर फर्के । हाम्रो जस्तो कम साधन श्रोत भएको अति दुर्गम क्षेत्रमा रहेको स्थानीय तहको अस्पतालमा पनि एउटा राम्रो team-work र coordination ले गर्दा एउटा नाजुक अवस्थाको बिरामीलाई बचाउन सफल भयौं । मलाई पनि SBA (Skilled Birth Attendant) तालिम लिदा MVA सम्बन्धी सिकेको ज्ञान र सिप प्रयोग गरी बिरामीको घाउमा मल्हम लाउन पाउँदा स्वास्थ्यकर्मी हुनुमा साच्चै नै गौरवान्वित महशुस हुन्छ ।

बबिता बिष्ट
स्टाफ नर्स, गोकुलेश्वर अस्पताल

Share this: