७ बर्षे बालकको घाँटीमा ५ रुपैयाँको सिक्का

30 Dec, 2021     By: डा. प्रदीप शर्मा, एमडीजीपी, सल्यान अस्पताल

करीव ७ बर्षदेखि सल्यान अस्पतालमा क्लिनिकल कोअर्डिनेटरको पदमा रही सेवा प्रदान गर्ने क्रममा सम्झना लायक थुप्रै केसहरुको उपचार गरियो । ती मध्ये एउटा कठिन तर सफलतापूर्वक उपचार गरेको रोचक केसलाई यहाँ प्रस्तुत गरेको छु ।

एकजना ७ वर्षको बालकले बिहान खेल्ने क्रममा पाँच रुपैयाको सिक्का निलेकोले दिउँसो १ बजे तिर उनको आमाले सल्यान अस्पताल ल्याईपु-याईन । बालकको एक्सरे गरेर हेर्दा घाँटीमा ठ्याक्कै Esophagus को माथिल्लो भाग Cricopharyngeal मा सिक्का अड्केको देखियो । उसलाई सास फेर्न गाह्रो थिएन । तर खाना खान नसकेको अवस्था थियो र सामान्य दुखाई पनि थियो । त्यो सिक्का निकाल्नको लागि चाहिने उपयुक्त उपकरण अस्पतालमा उपलब्ध नभएकोले त्यो सिक्का निकाल्न दुरविन जस्तो साधन Endoscope बाट निकाल्न नेपालगञ्ज जानुपर्छ भनी बच्चाको आमालाई सुझाव दियौं । तर नेपालगञ्जसम्म जान बढी समय र पैसा लाग्नुका साथै बच्चालाई बाटोमै केही होला कि भन्ने डर उनमा थियो । त्यही वाध्यतालाई बुझेर हामीले सल्यान अस्पतालमा नै उपचार गर्ने निर्णय ग-यौं ।

यस्तो केसको बारेमा सजिलो तरिकाले निकाल्ने बारे विश्वमा केही अनुसन्धान भएका रहेछन । यसबारे मलाई जानकारी थियो । तर पहिले कहिल्यै त्यो तरिका प्रयोग गरेको थिईनँ । सबै सामान तयारी अवस्थामा राखेर बच्चाको आमालाइ सबै कुरा बुझाएर सिक्का निकाल्ने निधो गर्यौं । बेहोस बनाउने Anaesthesia Assistant, डाक्टरहरु सहित अक्सिजन, intubation set, Magill Forceps लगायत सम्पूर्ण सामानहरु तयारी अवस्थामा राख्यौ । शुरुमा बच्चालाई Ketamine + Midazolam दिएर बेहोश बनायौं । अनि NG tube हाले जस्तै नाकबाट 12 Fr को Foleys Catheter हाल्यौं र लगभग सम्पूर्ण भाग भित्र पठायौ । Bulb लाई छ 5 ml NS हालेर फुल्यायौं । अब बच्चालाई घोप्टो पारेर (Prone Position) मा राखेर टाउको तल बनायौं । अनि Foleys जोडले बाहिर तान्यौं । त्यो Foleys को bulb ले सिक्का भन्दा तल गएर फुलेको अवस्थामा सिक्कालाई बाहिर तान्यो र त्यो सिक्का मुखमा आइपुग्यो । मुखबाट आएको secretion लाई suction गर्यौ । त्यसपछि बच्चालाई केही बेर अक्सिजन लगायौं र १५ मिनेट हेर्यौं । सबै ठीक थियो । त्यसपछि २ घण्टापछि बच्चा होशमा आयो र बिस्तारै झोलकुरासँग क्रमशः सबै कुरा खान सक्ने भयो ।

दुर्गम क्षेत्रका अस्पतालहरुमा काम गर्दा सीमित उपकरणहरु प्रयोग गरेर विरामीको उपचार गर्नुपर्ने वाध्यताको यो एउटा उदाहरण मात्र हो ।